काठमाडौं। झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगविहीन बनेको छ। उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरणका लागि विस्तृत परियोजना विवरण बने पनि काम हुन नसकेको बताइएको छ।
दमक नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना हुँदा पनि यसको बिक्री वितरण सुरू हुन सकेको छैन। “फोहोरबाट ग्यास उत्पादन त सुरू भयो तर यसको बजारीकरणमा राज्यको सहयोगबेगर असम्भव छ” , प्रालिका अध्यक्ष युवराज घिमिरेले भने।
दमक २ मा हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र संरचना निर्माणमा २० करोड ५८ लाख ९७ हजार रूपियाँ लागतको काम भए पनि कोरोना संक्रमण लगायतका कारण यसको खर्च बढेको थियो। यसमा १४ करोड ७० लाख रूपियाँ बढी नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी ५ करोड आठ लाख रूपियाँ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लगानी सम्झौता भएको घिमिरेले जानकारी दिए।
दैनिक २५ देखि २६ सय केजी ग्यास उत्पादन भएको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइदै आएको छ। मिथेन बायो ग्यास उत्पादन सुरु भएपनि उत्पादन भएको ग्यासलाई प्रशोधन गरेर ग्यास पाइप वा सिलिण्डरमार्फत वितरण गर्ने योजना पूरा हुन नसकेको नेक्स्ट प्रालिका निर्देशक विमल खतिवडाले बताए।
“सरकारसमक्ष पाइपलाइन विस्तारका लागि आवश्यक बजेट माग गरिरहेका छौं र यो भएमा पूर्वमा नमूना परियोजना बन्नेछ”, खतिवडाले भने। विशेषगरी दमक बजार क्षेत्रमा पाइपलाइनका लागि बनाइएको डीपीआर अर्थात् विस्तृत परियोजना विवरण कार्यन्वयन गरेमा तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पुर्याउन सकिने पनि उनले जानकारी दिए।
दमक नगरपालिकाका वातवरण तथा सरसफाइ शाखाका प्रमुख दोर्ण थापाका अनुसार दमक क्षेत्रमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको छ। यसमध्ये १५ टन फोहोर संकलन हुँदैछ । संकलन भएको फोहोरमध्ये ६६ दशमलव ५२ प्रतिशत जैविक अर्थात् कुहिने फोहोर रहेको छ। गोरखापत्रबाट