बागलुङ। ढोरपाटन नगरपालिका–४ किरी गाउँका ८१ वर्षीया लालबहादुर अर्गेजाको मुहारमा आजभोलि छुट्टै खुसी देख्न सकिन्छ। करिब सात दशकको जीवन यात्रामा अनेकौँ दुःख संघर्ष गर्नु भएका लालबहादुरलाई अहिले सानो कुराले ठूलो खुसी दिएको छ। उनी यसरी खुसी हुनुको कारण हो गाउँ छेउमै दैनिक दर्जनौ मोटर गुड्नु।
लालबहादुरको गाउँमा अझै मोटरबाटो पुगेको छैन। तर, उनलाई छिमेकी गाउँ सडकले जोडिदाँ पनि खुसी छन्। सोही गाउँ हुँदै आफ्नो घर पुग्न लालबहादुरलाई करिब आधा घण्टा लाग्छ। किरी गाउँ जिल्लाकै दुर्गम गाउँ हो। मुलुक संघीय संरचनामा गए पछि पछिल्लो समय विकासले गति लिन थालेको छ।
लालबहादुरले गाउँ नजिकै सडक नआउँदा सम्म निकै दुःख भोग्नु परेको सुनाउँदै अब दुःखका दिन बिस्तारै हट्दै जाने बताउँछन्। गाउँ–गाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडिसम्म बुटवल, सुनवल लगायतका सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उनको भनाई छ।
‘आज भन्दा १५–२० वर्ष अगाडि अहिलेको जस्तो सुविस्ता (सुविधा) थिएन, खसौली, बटौली, सुनौली पुगेर नुन बोकेर जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ–गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ’, उनले भने ‘उतिबेला नुन, चामल ल्याउन १५–२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चिज त हाम्रो पालामा पाइँदैनथ्यो।’
बिस्तारै मुलुकमा विकास हुँदै गए पछि गाउँ भन्दा केही तलसम्म सडक आएपछि त्यो सुविधा अहिले गाउँमै लिन सकिने उनी बताउँछन्। लालबहादुरले सुनवल, वुटवल, तानसेन, भुवाचिदी, खर्बाङ, भिमगिठे हुँदै बुर्तिबाङबाट लामो समयसम्म आवश्यक सामानहरू घोडा खच्चडमा ढुवानी गरेर गाउँसम्म ल्याएको अनुभव सुनाए।
‘गाउँमा नुन, चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनु पथ्र्यो, बजार नजिक थिएन, १०(१२ दिन लगाएर खसौली, बटौली जानु पथ्र्यो, त्यसपछि माथि–माथि मोटरबाटो आउन थाल्यो, पछि खर्बाङ, भिमगिठे र बुर्तिबाङ पनि गाडी आउन थाले त्यसपछि हाम्लाई पनि सहज हुन थाल्यो’, लालबहादुरले भने, ‘अहिले गाउँ–गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले।’
उनले आफ्नो जीवनकालमा गाउँमा मोटर गाडी गुड्लान् भन्ने कल्पना नगरेको भन्दै अहिले गाउँमा गाडी गुड्दा खुसी लाग्ने बताए। गाउँमा मोटरबाटो पुगेपछि लालबहादुर जस्ता सयौँ बुढापाका र स्थानीय वासिन्दामा खुसी पलाएको छ। सडकले उनीहरूले भोगेको पुराना दुःख भुलाएको छ।
वडा–४ कै फलामखानीकी ७६ वर्षीया पानमती विकको अनुभव पनि लालबहादुरकै जस्तै छ। जीवनको करिब ५० औँ वर्ष भन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिकी चलाएकी पानमती अहिले घर नजिकैबाट आवश्यक सामान किन्न पाउँदा दंग छिन्। मुस्ताङको थाकखोलाबाट नुन बोकेर ल्याएर उपभोग गर्नु भएकी पानमतीले अहिले नुन मात्रै होइन दैनिक जीविजमा चाहिने सामान घरै नजिक पाउन सक्छिन्।
‘यस्ता दिन पनि आउँदा रैछन्, कुनै बेला नुनकै लागि १५–२० हिँडेर मुस्ताङ, पुग्नु पथ्र्यो, अहिले ननु, सुन जे भने पनि गाउँमै पाइन्छ, गाउँमा विकास होला, यस्तो सविधा यही पाइएला भन्ने त हामीले सोचेका पनि थिएनौँ’, पानमतीले भनिन्, ‘तर अहिले हामीले नसोचेको विकास भयो।’
उनले मोटर गाडी देख्न ठूला–ठूला सहरमा पुगेपछि मात्रै देखेको अनुभव सुनाउँदै अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेको बताइन्। सडक सञ्जालले गाउँ नजोडिँदा पिठ्युँमा नुन चामल बोकेर उपभोग गर्ने गरेको स्मरण गर्दै अब त्यस्ता दिनहरू कहिल्यै नआउने उनले बताइन्।
गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पुर्याउने गर्दै आएका थिए। अहिले सडक सुविधाले गर्दा गाडी मार्फत बिरामीलाई अस्पताल लैजान सकिनेछ। ‘पहिले त गाडी भन्ने सुनेका मात्रै थियौँ, गाउँमा कोही बिरामी पर्दा डोकोमा, डोलामा बोकेर अस्पतालसम्म लैजाने गथ्यौँ, समयमा अस्पताल नपुग्दा कतिको बाटैमा मृत्यु समेत भयो’, उनले भनिन्, ‘अहिले त अस्पताल पनि नजिकै छ, कोही बिरामी पर्यो भने तुरुन्तै गाडीमा लैजान सकिन्छ।’
ढोरपाटन नगरपालिका– ४ मा दुई वटा मुख्य सडक छन्। बुर्तिबाङ–बोङ्गादोभान सडक र बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउराली धारा हुँदै जोड्ने सडक यहाँको मुख्य सडक हुन्। बुर्तिबाङ–बोङ्गादोभान सडक यस वडामा करिब ५ किलोमिटर पर्छ भने बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउरालीधारा हुँदै जोड्ने सडक करिब २० किलोमिटर पर्छ। यस सडकलाई वडाको ‘लाइफ लाइन’ का रुपमा लिइन्छ।
नगरपालिका– ४ खुङ्गाका अध्यक्ष तिलक पुनले आफूहरू निर्वाचित भएर आएपछि वडामा धेरै सडक निर्माण गरेको र अझै केही बस्तीमा पुर्याउन बाँकी रहेको बताए। बुर्तिबाङ–बोङ्गादोभान सडक र बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउराली धारा हुँदै जोड्ने सडक स्थानीय तह गठन नहुँदै खुलेका थिए। यस सडकले वडावासीको मुहार फेरेको अध्यक्ष पुनले बताए।
बुर्तिबाङ–बोङ्गादोभान सडक र बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउराली धारा हुँदै जोड्ने सडकको केही ठाउँमा आफूहरू आए पछि ट्रयाक फेरेर केही सहज बनाएको र थप सडकहरूको ट्रयाक समेत खोलेको उनले जानकारी दिए।
अध्यक्ष पुनले धाइबाङदेखि कुलुरवन, धिरी फलामखानी दोस्रो ठूलो सडक भएको भन्दै यसले पनि खुङ्गावासीको जीवनमा ठूलो राहत पुर्याएको बताए। उनले वडाका धेरै ठाउँमा सडक पुगे पनि रिखुवा, सिमिका, किरी, झारसाली लगायतका गाउँहरूमा पुर्याउन बाँकी रहेको बताउँछन्। भौगोलिक विकटताका कारण केही ढिलाई भएको भन्दै आफूहरू प्रयासरत रहेको बताए।
‘हामी आइसके पछि धेरै ठाउँलाई सडक सञ्जालले जोडेका छौँ, अझै केही गाउँहरूमा पुगेको छैन, त्यसको लागि पनि निरन्तर लागि रहेका छौँ, भौगोलिक विकटताका कारण र धेरै बजेट लाग्ने हुँदा पुग्न नसकेको होु, अध्यक्ष पुनले भने, ‘ठाउँ अप्ठ्यारो छ, बजेट सिमित हुन्छ, त्यसले गर्दा काम गर्न गाह्रो भएको हो, हेरौँ अर्को वर्षसम्म पुग्छ कीरु’
नगरपालिका चार गाविस, बुर्तिबाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ मिलेर बनेको छ। खुङ्गा बाहेक अन्य गाविसलाई दुई वटा वडामा विभाजन गरिएको छ। बजेट विनियोजन हुने बेला समानुपातिक रुपमा नहुँदा विकासमा थप चुनौति थपिएको अध्यक्ष पुनको भनाई छ। उनले आफ्नो वडा भौगोलिक र जनसंख्याको हिसाबले पनि ठूलो भएको बताउँछन्।
हालसम्म २ करोड रुपैयाँमा सडक निर्माण खर्चिएको बताए। वडाका करिब ९५ प्रतिशत जनता सडकको पहुँचमा पुगेको अध्यक्ष पुनको भनाई छ। नागरिकको सहजताका लागि इन्जिनियरिङ गरेर सडक निर्माणलाई जोड दिएको अध्यक्ष पुनको भनाई छ। थाहाखबर