पाँचथर । जिल्लाको साँवा खोलामा आएको बाढीले निर्माणाधीन पुल बगाउँदा तीन करोड बराबरको क्षति भएको छ । कार्तिक १ र २ गते आएको अविरल वर्षाआएको बाडीका कारण पाँचथरको मौवा जोरसाले हुँदै यासोक फिदिम जोड्ने पक्की पुल बगाएको हो।
पुल बगाउँदा दुई करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको पुल निर्माणको जिम्मा लिएको मैनाचुली निर्माण सेवा प्रालिले जनाएको छ ।
बाढीले स्काभेटर, ब्रेकर, वाटर पम्प ४ वटा, डिजेल जेनरेटर ३ वटा, कङ्क्रिट मिक्स्चर मेसिन ३ वटा, कङ्क्रिट भाइब्रेट ५ वटा पुरेर कामै नदिने अवस्थामा पुगेको छ।
त्यसैगरी ग्याबिन जाली ८ सय घनमिटर, सिमेन्ट, बालुवा, प्लाई, रड, यूजग क्लेम्प, सोलार सेट, लत्ताकपडाका सामाग्री, कम्प्युटर प्रिन्टर, पुल निर्माणमा प्रयोग हुने फलामे पाइप, केम्प लगायतका सामग्री बगाएर पूर्ण रूपले क्षति भएको बताइएको छ ।
पूर्वाधार विकास कार्यालय पाँचथर मातहत निर्माण भइरहेको ४० मिटर लामो पक्की पुल बगाएको हो। आगामी ०७८ पुस ४ गते सम्ममा निर्माण कार्य सक्ने गरी काम भइरहेको उक्त पुलको ५० प्रतिशत काम पूरा भइसकेको थियो ।