काठमाडौं । समाजसेवाको क्षेत्रमा क्रियाशील पूर्वसैनिक सेवा समाज नेपालले स्थानीय विकासमा सहकार्यसँगै नागरिकहरुको विभिन्न समस्यामा हातेमालो गर्देै आएको छ ।
स्थानीय निकायले सञ्चालन गर्ने विकास निर्माणमा जनसहभागीता जुटाउने, सरसफाई कार्यक्रम एवं मठ मन्दिरको संरक्षण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको अध्यक्ष प्रकाश बानियाँले जानकारी दिए ।
पूर्वसैनिक सेवा समाज नेपाल धापासीले टोखा नगरपालिकादेखि अन्य स्थानमा समेत वर्षाको समयमा आइपर्ने बाढी पहिरोको जोखिमबाट बच्न जनचेतनाको कार्यक्रमसँगै बाढी पहिरोमा पर्ने स्थानीयलाई आवश्यक सहयोग गर्ने गरेको छ।
देवघाटको शाखा धापासीमा निर्मित प्रतिष्ठित हरिहर सन्यास आश्रम, मन्दिरको वरिपरिको झाडी सफा गर्ने कार्य सेवा समाजले गरेको छ । अध्यक्ष प्रकाश बानियाँको नेतृत्वमा दुई दिनसम्म भएको झाडी फडानी कार्यमा सेवा समाजका पूर्वअध्यक्ष तथा संरक्षक मेघराज टण्डन लगायत सम्पूर्ण पदाधिकारी, सदस्यहरुको सहभागीता रहेको थियो।
सेवा समाजले वृक्षारोपण, रक्तदान, स्थानीय सडक निर्माण, स्थानीय टोलमा सरसफाइ गर्ने र स्थानीयलाई सफाइमा नियमित ध्यान दिन उत्प्रेरित गर्ने गरेको छ । स्थानीय तहमा नागरिकहरुका लागि समाजसेवामा विशेष कार्यक्रमहरु, स्थानीय तहमा हुने अन्य कार्यक्रममा पनि सुरक्षा सम्बन्धी स्वयंसेबीको भूमिका निर्वाह गर्ने गरेको कारण पूर्वसैनिक सेवा समाज धापासीमा परिचित र सहयोगीको रुपमा स्थापित रहेको छ ।