जुम्ला। कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ। सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की पुल एकसाता अघि एकाएक चर्किएको हो। जसले गर्दा पुल निर्माण थप पछि धकेलिएको छ। उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ।
२०६१/०६२ सालबाट सञ्चालित जीण बेलिब्रिजबाटै ठूला सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन्। कति बेला दुर्घटना हुने भन्ने सकिने छैन। चाँडै पुल बन्ला र सुरक्षित यात्रा गरौंला भन्ने आशामा बसेका स्थानीय निर्माण नसकिँदै पुल चर्किएपछि निर्माणमा लापरबाही गरेको भन्दै आक्रोसित भएका छन्।
तिला–७ का कृष्णबहादुर बुढाले भने, “पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद पक्ष हो। सँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन्। तर सिंजाखोला पुल ६ वर्ष बित्दा पनि बनेको छैन। निर्माण सकिनै लागेको पुल चर्किनुमा कसको लापरबाहीले हो तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ।” लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु विडम्बना नै रहेको स्थानीय अगुवा बताउँछन्। कमसल सामग्री प्रयोग गरेका कारण पुल बीचमै भत्किन थालेको स्थानीयको आशंका छ।
असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भए पनि पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माण रोकिएको सडक डिभिजन सुर्खेतका इन्जिनियर तुलाराम शर्मा बताए। उनले भने, “उच्च प्रविधियुक्त अर्थात् (प्रि-स्ट्रस) प्रविधिको कर्णालीकै दोस्रो पुल हो। कमसल सामग्रीको प्रयोग नभई फाइनल स्ट्रेसिङ अर्थात् लडा तान्दा समस्या आयो। हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या देखियो। पुल चर्किंदा निर्माण कार्य धकेलियो। उही लागतमा निर्माण कम्पनीले कार्यलाई निरन्तरता दिने छ।”
ठेक्का नं. ३ मा रहेको सिंजाखोला पुल यो वर्ष सकिने गरी म्याद थप गरिएको थियो। तर पुल नै चर्किएपछि पुल निर्माणको कामसमेत अनिश्चित बनेको छ। अब पुललाई ग्राउटिङ गरेर पुर्न स्ट्रेसिङ गरेर मात्र निर्माण प्रक्रिया अघि बढ्ने इन्जिनियर शर्माको भनाइ छ। उनले थपे, “प्रि-स्ट्रस गर्दा पुल चर्किएको छ। फेरि ग्राउटिङ गर्नुपर्छ। जसका लागि नेपालमा उपकरण र जनशक्ति छैनन्। भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्र काम अघि बढ्छ। साउन पहिलो साता भारतबाट विज्ञको टोली आउँछ। दसैमा सञ्चालनमा ल्याउने गरी काम अघि बढ्छ।” अहिलेसम्म उक्त पुलको तीन पटक म्याद थपि सकिएको छ। तर निर्माण कम्पन्नीको ढिलासुस्ती र कोभिडले निर्माण भएन् भने सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ। यो पुल ५० टन लोड क्षमताको रहेको छ।
६ वर्षदेखि पुल अधुरै
निर्माण नसकिँदै चर्किएर पुनः ग्राउटिङ गर्नुपर्ने अवस्थाम पुगेको सिंजाखोला पक्की पुल विगत ६ वर्षदेखि अधुरै छ। उक्त पुलको ३० कात्तिक २०७४ मा सुर्खेतस्थित सूर्य कन्ट्रक्सन प्रालिसँग दुई वर्षमा कार्यसक्ने गरी सम्झौता भएको थियो। सम्झौतामा १४ चैत २०७५ मा पुलको निर्माण कार्य सकिएर सवारीसाधन आउजाउ गराउने उल्लेख छ। तर ६ वर्षसम्म पनि पुल निर्माण सकिएको छैन। मुस्किलले निर्माण सकिन लागेको पुल निर्माण कम्पनीकै लापरबाहीले चर्किएपछि फेरि काम बीचमै अलपत्र परेको छ।
सम्झौता मिति सकेर तीन पटक म्याद थपेर पनि ६ वर्ष सम्म अलपत्र हुँदा सुर्खेत सडक डिभिजनले ताकेता दिएको छैन। नागरिक तहबाट कमसल सामग्रीको प्रयोग र कमजोर जनशक्तिले पुल निर्माणमा लापरबाही भएको आशंका गरिरहेका छन्। सम्झौतामा कर्णाली राजमार्गको छिडेना र सिंजाखोला पुलको एउटै ठेक्का बनाइएको छ। जसमा एकमुष्ट रकम १३ करोड रुपैयाँ रहेको छ।
इन्जिनियर तुलराज शर्मा भन्छन, “सिंजा खोला पक्की पुल निर्माणमा सुरुवातिदेखि नै समस्या हुँदै आएको छ। पुलको पहिलो डिजाइन नै गलत थियो। जसले गर्दा सम्झौताअनुसार पुल निर्माण अघि बढेन। फेरि अर्को डिजाइन गर्यौं। पहिलो ठेक्का सम्झौताको अवधि डिजाइनमै बित्यो। त्यसैले निर्माण ६ वर्ष बित्यो।”
इन्जिनियर शर्माका अनुसार प्रि–स्ट्रेस पुल निर्माणमा कमसल सामग्रीको प्रयोग नभई स्टेसिङ गर्दा मात्रै समस्या आएको जिकिर गरे। चर्किएको पुल कन्ट्रयाक्टरले नबनाएसम्म सवारीसाधन भुक्तानी पनि नहुने र गाडी पनि चल्न नदिइने उनले बताए। कारोबारबाट
यो पनिः
८ वर्षमा पनि निर्माण सम्पन्न भएन ५० मिटर पुल