काठमाडौं। राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक सहर निर्माणका लागि अभियान थालेको छ। जनमोर्चाले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध पुरातत्व सहर निर्माणका लागि अभियान सुरुवात गरेको हो।
मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभियानका लागि कार्यदल गठन भएको जनमोर्चाले जानकारी दिएको छ।
जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलमा मनोज भट्ट, हिमलाल पुरी, बद्रे आलम र घनश्याम न्यौपाने सदस्य छन्।
कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सभ्यता रहेकाले ति मानवसँग जोडिएका सम्पदालाई जोडेर पुरातात्विक शहर निर्माणको परिकल्पना गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।
भट्टले विश्वका बौद्धिष्टहरुका लागि आर्कषण केन्द्र बनाउन सकिने भएकाले अभियान सञ्चालन गरिएको बताए। पुरातात्विक शहर निर्माणको अभियान कुनैपनि धर्मसँग नजोडिएको उनले स्पष्ट पारे।
भट्टले भने, ‘बौद्ध पुरातात्विक शहरको निर्माणले पर्यटनको माध्यमबाट आर्थिक विकास र समृद्ध हासिल गर्न सकिन्छ। कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गरे ऐतिहासिक ठाउँहरुलाई मिलाएर बौद्ध सम्भयताको एउटा विशाल शहर निर्माण हुन सक्ने सम्भावना छ।’
तत्काल बौद्ध पुरातात्विक शहर नभएपनि अहिले परिकल्पना तथा सपना मात्र देखिएको भन्दै यसको निर्माणका लागि आमनागरिक, सरकार, पुरातत्वविद् र सबै सरोकारवालाहरु लाग्नुपर्ने भट्टले बताए।
बौद्ध सम्भाव्यता शहर निर्माण कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अहिले पनि कपिलवस्तुमा १३५, रुपन्देहीमा ९९ र नवलपरासीका ४० वटा पुरातात्विक स्थलहरु अन्वेषण र संरक्षण नभएकाले यी सबै स्थानमा उत्खनन गर्दै पुरातात्विक शहरको रुपमा विकास गर्न सकिने बताए।
त्यस्तै, संस्कृतविद् डा. गितु गिरी र उपप्रध्यापक लीलाबहादुर केसीले १८९५ देखि नेपालमा उत्खनन सुरु हुन थालेपनि अझै पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताए।
अहिले त धेरै पुरातात्विक सम्पदाको अन्वेषण नभई हराउन थालेकोप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।