काठमाडौं। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार निर्माणको लागी रुख काटिने भएको छ। केबुलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रूख काटिने भएको हो।
बन्दीपुर गाउँपालिका–४ स्थित कोच्चो सामुदायिक वनभित्रको दुई सय ५७ रूख काट्न लागिएको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख सुरेश भुजेलले जानकारी दिए। रूख काट्नका लागि वन विभागबाट स्वीकृति प्राप्त भइसकेको छ। दुई हप्ताभित्र रूख काटेर सकिने र काटेको रूख सामुदायिक वनलाई बुझाउने उनले बताए।
आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रा.लि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ। उक्त केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ।
कोभिड–१९ को प्रभावका कारण तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा थोरै ढिला भएको भएतापनि विसं २०७९ फागुन १ गते बटम स्टेसनको काम र केबुलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
केबुलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ, शर्माले भने। परियोजनाको कूल लागत रु दुई अर्ब दश करोड पुगेको छ।
बजारको माग र चापका कारण यसलाई विस्तार गर्दै २५ वटा गोन्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा पाँच सय यात्रुहरु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ। बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी ःबन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको शर्माले बताए। यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ। जसले गर्दा पर्यटकलाई लोभ्याउने विश्वास गरिएको छ।