जाजरकोट। निर्माण कार्यको लागि तोकिएको मूल्यभन्दा निकै कममा ठेक्का लिई निर्धारित समयमा काम नगर्दा जिल्लाको विकास निर्माणको गतिमा अवरोध हुँदै आएको छ। त्यस्तै विसं २०६५ बाट मात्र विकासको सुरुआत भएको जाजरकोटमा सुरुमा सडक निर्माणलाई मात्र पहिलो प्राथमिकता दिइएको थियो।
सुर्खेतको राकमस्थित भेरी नदीको पुल १३ वर्षसम्म निर्माण नहुँदा धोका खाएका जाजरकोटमा राकमबाट जाजरकोट सदरमुकामसम्म १५ वर्षमा १२ वटा मात्र पुल निर्माण भएका छन्। सो पुल निर्माण तोकिएको समयमा निर्माण नहुँदा पाँचपटकसम्म म्याद थपेर निर्माण गरिएका हो। निर्माण कार्यमा खेलाचि गरी निर्माण गर्दा त्यस्ता विकास कार्य दिगो नभएर २ वर्ष पनि नवित्दै भत्किने समस्याले जाजरकोट बासीहरुले धेरै समस्या झेल्दै आएका छन्। त्यस्तै कालोपत्रको ठेक्का लिएका निर्माण व्यवसायीले कालोपत्र गरेको दुई वर्ष नबित्दै ठाउँठाउँमा प्वाल पर्नुका साथै दुर्घटनाको मूलजड नै सडक बन्दा २०० भन्दा धेरै मानिसको यही सडकमा अकालमै ज्यान गइसकेको छ।
सदरमुकाम तथा मुख्य सडकमा मात्र नभई गाउँगाउँमा तोकिएको मापदण्डमा सडक निर्माण नगर्दा दैनिक दुर्घटना बढदै गइरहेको छ। त्यस्तै तीनवटा मुख्य सडक जाजरकोटकै भू–भाग भएर जान्छन् तर सबै तोकिएको मापदण्डमा निर्माण नहुँदा मान्छे मार्ने धराप बन्दै गएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले जानकारी दिएका छन्। त्यस्तै खलङ्गा–पाँचकाटिया २१ किमी सडक निर्माण गर्दा गुणस्तरहीन बनाएको कारणले पटक–पटक सर्वसाधारणले दुःख पाउने गरेका छन्। तोकिएको समयभन्दा धैरुै ढिला ट्र्याक खुला भएको सो सडकमा रु २५ करोडभन्दा बढी खर्च भए पनि सडकको अवस्था भने अहिलेसम्म पनि सुधार हुनसकेको छैन। यस सडकमा हिउँदयाममा मात्र हलुका सवारी गुड्ने गर्छन भने वर्षायाममा यो सडकमा पैदल हिँड्नै मुस्किल हुने गर्दछ।
त्यस्तै हालसम्म खलङ्गा–रिम्नासम्म कालोपत्रको काम भइसक्नुपर्ने भए पनि एक मिटर कालोपत्र गरिएको छैन। सोही ठाउँमा कालोपत्रको कामसँगै ११ केभी विद्युत्को प्रसारण लाइन तीन वर्षअघि भइसक्नुपर्ने भए पनि अहिलेसम्म २० प्रतिशत पनि काम भएको छैन। जाजरकोट–डोल्पा सडकखण्डभित्रका विभिन्न भागमा सडक निर्माणको काम भइरहेको भएता पनि सो सडक तोकिएको समयमा निर्धारण हुनसकेको छैन।
यस्तै खलङ्गा–कुशे–बारेकोट, जुनिचाँदे, शिवालय र नलगाडमा लिने भनिएको विद्युत्का लाइन निर्माण व्यवसायीले तीन वर्षदेखि काम नगरी बीचमै छोड्दा सर्वसाधाण आक्रोशित भएका छन् भने राजनीतिक पहुँचकै कारण विकास निर्माणका काम तोकिएको समयमा हुन नसकेको कारण स्थानीयले सास्ती भोग्नु परेको त्यहाँका स्थानीयले गुनासो पोखेका छन्। जाजरकोटको गाउँमा रहेका टेलिफोन टावर तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने भएता पनि हालसम्म ७० प्रतिशत मात्र निर्माण भएको कुरा नेपाल टेलिकम जाजरकोटले जानकारी गराएको छ।
यस्तै जाजरकोट खण्डको निर्माणको काम गर्न ढिलाइ हुँदा डोल्पा जिल्लाको विकास निर्माणमा समेत बाँधा पुगेको छ। विकास निर्माणका लागि जिल्लामा वर्षेनी करोडौँ बजेट आए पनि निर्माणको काम नहुँदा सो बजेट फ्रिज भएर जानुका साथै भएका कामसमेत कछुवा गतिमा हुँदा जाजरकोटले विकास निर्माणको काममा पछि परेको छ।
दुर्गम जिल्लाको रुपमा रहेको जाजरकोटमा कर्णाली १० जिल्लामध्ये स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याउने उद्देश्यले सदरमुकाममा ५० शश्याको भवन निर्माण तथा अन्य काम भइरहेको छ। त्यस्तै पालिकास्तरमा निर्माण हुने भनिएका १० र १५ शश्याको स्वास्थ्य संस्थाको अहिलेसम्म जग नै हालिएको छैन। सो अस्पताल निर्माण कार्यमा कत्तै जग्गा विवाद त कत्तै पालिकाले नै खेलाची गर्दा निर्माणको कामले गति लिन नसकेको हो।
जुनिचाँदेको बड्कुलेमा निर्माण गर्न लागिएको स्वास्थ्य संस्थाको भवन नौ वर्षदेखि अलपत्र अवस्थामा नै रहेको छ। कामको जिम्मा लिएको ठेकेदारले काम नगर्दा सो भवनको बनाइएको जगमा पनि हालसम्म बोटबिरु उम्रिसकेका छन्। निर्माण जिम्मा लिएको ठेकेदारलाई जसले जति ताकेता गरे पनि सुने नसुनेझैँ गरी चुप लाग्ने गरेको नलगाड नगरपालिकाले जनाएको छ। त्यस्तै पश्चिम क्षेत्रको सडकको किल्ला मानिएको मोर्कखोलाको पुल १२ वर्षदेखि आधा काम मात्र भएको छ। हाल भौतिक पूर्वाधार विकास कार्यालयले सो पुलको निर्माण गर्न थालेपछि केही मात्रामा विकास भएको छ।
प्रदेश कार्यालयले निर्माणको जिम्मेवारी लिएका सडक, पुल र अन्य विकास निर्माणका कामले भने हाल गति लिएको छ। तर सङ्घीय सरकारले सुरु गरेका निमार्णको काम तोकिएको समयमा नहुँदा सर्वसाधारणले दुःख भोगिरहेका छन्। जिल्लाको विकास निर्माण र ताकेका विषयमा पूर्वमन्त्रीले कार्यालय प्रमुखको बैठकमा काम छिटो गर्नका लागि दबाब दिन जोड दिनुपर्ने बताएका थिए। मिलेमतोमा सबै काम गर्ने तर विकास निर्माणमा खेलवाड गर्ने छुट कसैलाई नभएको उनले बताएका छन्।