सिन्धुपाल्चोक। जिल्लामा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङ ब्रेक–थ्रु भएको छ। आयोजनाले ७१२४ मिटरको सुरुङ ब्रेक–थ्रु गरेको हो।
आयोजनाको सबै काम यतिबेला अन्तिम चरणमा छन्। हाल सुरुङ ढलान गर्ने काम भइरहेको छ भने पावर हाउस र ड्यामको काम पनि अन्तिम चरणमा पुगेको छ।
जतिसक्दो चाँडो काम सकाउने लक्ष्य रहेको आयोजनाले जनाएको छ। पावर हाउसमा इलेक्ट्रोमेकानिकल काम भारतीय ठेकेदार कम्पनीले गरिरहेको छ। एक वर्षभित्र यो आयोजनाको एउटा युनिट सञ्चालनमा ल्याउने योजना रहेको आयोजनाले जनाएको छ।
आयोजनाको सुरुङ मार्गको बाँध क्षेत्रतर्फ निर्माण काम ९७ प्रतिशत सकिएको आयोजनाले बताएको छ। विद्युत मेकानिकल काम पनि तीव्र गतिमा भइरहेको छ। आयोजनाले प्रसारण लाइनअन्तर्गत टावर पनि बनाइरहेको छ। ट्यांकी निर्माण लगायत संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ। सबै आयोजनाको काम ८५ प्रतिशतभन्दा माथि भएकाले यही गतिमा निर्माण भए एक वर्षमा विद्युत उत्पादन सुरू हुने अनुमान छ।
२०७० सालमा सुरू भएको यो आयोजना सन् २०७४ सालमा सक्ने लक्ष्य थियो। तर २०७१ सालमा आएको जुरे पहिरो, २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी, २०७३ को भोटेकोशी बाढी लगायत कारण आयोजनाको म्याद थपियो। निर्धारित कार्यतालिका अनुसार आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेन।
कोरोनाका कारण पनि आयोजनालाई निकै असर पुगेको उल्लेख गरिएको छ। २०७७ असारमा निर्माणस्थल वरपर भोटेकोशी एवं आसपासका क्षेत्रमा आएको बाढीपहिरो जस्ता कारणले पनि ढिलाइ भएको आयोजनाले बताएको छ।
उक्त ढिलाइका असरहरूको मूल्यांकन गरी आयोजनाका मुख्य ठेकदार कम्पनीहरू र परामर्शदाताको संयुक्त प्रयासमा आयोजनाले गति लिएको बताइएको छ। पछिल्लो समय कामले अपेक्षित गति लिएको आयोजनाको दावी छ।