चरिकोट रंगशाला विस्तारको काम अन्तिम चरणमा पुगेको छ। कोभिड–१९ को महामारीका कारण खेलकुदका कार्यक्रम ठप्प भएको बेला अहिले चरिकोट टुँडिखेल विस्तार र अत्याधुनिक बनाउने कामले तीव्रता पाएको हो।
नगरपालिकाले खेलकुद हवको रुपमा चरिकोटलाई विकास गर्न खोजेको छ। प्यारापिटसहितको रंगशालासहित कभड हल पनि निर्माण अन्तिम चरणमा पुराएको छ। ठप्प रहेका खेलमैदानहरु चरिकोट टुँडिखेल र कभड हल पूरा भएपछि सन्चालनमा आउने छन् भने, फुटबल, भलिबल, ब्याडमिण्टन, टेनिस, मार्सल आर्ट, बास्केट बलजस्ता खेल प्रतियोगिता जुनसुकै बेला पनि गर्न सकिने छ।
भीमेश्वर नगरपालिकाको आफ्नै स्रोतबाट निर्माणाधीन टुँडिखेल आयोजनालाई नगरपालिकाले आफ्नो गौरवकै योजनाको रूपमा अघि बढाएको छ। ११० मिटर लम्बाइ र ६५ मिटर चौडाइको टुँडिखेल विस्तारको काम जारी छ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षको अन्त्यमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो। किराँतेश्वर–सिमपानी जेभीले पहिलो चरणको २ वर्षमा पूरा गर्ने गरी २०७७ साउन २५ बाट सम्झौता गरी काम सुरु गरेको छ। अहिले दक्षिणतिरको ११० मिटर लम्बाइको जग खनेर भवन निर्माणको काम निरन्तर भइरहेको छ।
टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेकोमा पहिलो चरणमा १२ करोड लागत छ। दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वानको तयारी नगरपालिकाले गरेको छ। दोस्रो चरणमा उत्तरतिरको प्यारापिट, खेल मैलान र टिकट काउन्टर, अतिथि आसनलगायतका संरचना तयार हुन्छ। अहिलेको टुँडिखेल फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुनेछ।
टुँडिखेलको निर्माण पूरा भएपछि राष्ट्रियस्तरको खेलहरू नियमित गर्न सकिने र यसले चरिकोटमा खेल पर्यटकहरू आउँदा आर्थिक विकासमा सहयोग पुग्ने नगरपालिकाले अनुमान गरेको छ।चरिकोटलाई खेल पर्यटनको गन्तव्य बनाउनका लागि पनि भीमेश्वर नगरपालिकाले टुँडिखेल विस्तार र कभड हल निर्माण गरिरहेको छ। निर्माणाधीन टुँडिखेलमा दशरथ रंगशालामा भएका सम्पूर्ण संरचना तयार हुनेछन्।