काठमाडौं। संखुवासभामा २२० केभी तुम्लिङटार–शितलपाटी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको छ । भोजपुर तथा संखुवासभामा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत आयोजनाको विद्युत जोडिने लाइन निर्माण अघि बढाउन सम्झौता भएको हो ।
लाइन निर्माणको ठेक्का भारतीय कम्पनी कल्पतरु ट्रान्समिसन कम्पनी लिमिटेडले पाएको आयोजनाले जनाएको छ। २२ मिलियन अमेरिकी डलर र ८३० मिलीयन नेपाली रुपैयाँमा १४ किलोमिटर लामो डबल सर्किट लाइन निर्माण गर्न सम्झौता भएको छ ।
सम्झौताका ३० महिनामा सक्नुपर्ने कामको डिजाइन र सर्वेक्षण गर्ने कार्य सम्झौता लगत्तै सुरु हुने बताइएको छ। इसुवा, इर्खुवा, चिर्खुवालगायतका खोलामा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेको आयोजनाको विद्युत जोड्न यो लाइन निर्माण गरिएको हो । आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन (इआए) २१ महिना अगाडी नै तयार गरिए पनि नेपाल वायुसेवा निगमले रोक्दा लाइन निर्माण ढिला भएको ४० मेगावाटका तल्लो इसुवा खोलाका प्रवर्द्धक इसुवा इनर्जी प्रालिका अध्यक्ष विक्रम विष्टले बताए ।
प्रसारण लाइनका लागि ४२ वटा टावर निर्माण हुनेछन् । प्राधिकरणले प्रसारण लाइन आयोजना निर्माण गर्न ५१.५०२५ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसमा १३.९३७ हेक्टर शीतलपाटी सबस्टेसन र प्रसारण लाइनको टावर राख्नका लागि आवश्यक पर्ने देखिएको छ । बाँकी ३७.५६५५ हेक्टर ‘राइट अफ वे’ का लागि उपयोग हुनेछ ।
प्रसारण लाइनको शीतलपाटी सबस्टेसनमा जोडिने गरी पिपिए भएका १५ जलविद्युत आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । ४० मेगावाटको तल्लो इसुवा खोला, ९७.२ मेगावाटको माथिल्लो इसुवा, १४.१५ मेगावाटको तल्लो इर्खुवा, ४.७ मेगावाटको माथिल्लो चिर्खुवालगायतका आयोजनाबाट उत्पादन हुने विद्युत यही प्रसारण लाइन हुँदै कोसी कोरिडोरको तुम्लिङटार सबस्टेसनसम्म पुर्याइनेछ । पहिले कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिने गरी प्रसारण सम्झौता भएका केही जलविद्युत आयोजना शीतलपाटीमा जोडिनेछन् ।