म्याग्दी। जिल्लाको पश्चिम भेगालाई जोड्ने बेनी दरवाङ सडक अन्तर्गत मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुल भत्किने जोखिम बढेको छ। दुखुखोलामा आएको बाढीका कारण पुलको वारिपारि निर्माण गरिएका संरचना कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको हो।
बाढीले पुलको दुवैतर्फको पिल्लर संरक्षणका लागि निर्माण गरिएको ग्याविन पर्खाल भत्काएको छ। तिव्र बहाव रहेको ठाडो खोलाले पुलको पिल्लर तर्फको जमिन कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए।
पुलको मालिका गाउँपालिका तर्फको पिल्लर संरक्षणका लागि लगाइएको ग्यावियन पर्खाल भत्काएको छ। भने सडक कटान गर्न थालेको छ। खोलामा बाढी नरोकिने हो भने पुल भत्किने उच्च जोखिममा परेको छ पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले भने ‘पुलको अवस्थाका वारेमा कार्यालयले अनुगमन गरेको छ।
पुलको अवस्था र मर्मतका लागि आवश्यक पर्ने बजेटका वारेमा मन्त्रालयमा जानकारीका लागि पत्र पठाएका छौं।’ पुलमा सवारी साधन आवतजावत गर्न जोखिम भएकाले हाल बन्द गरिएको उहाँले बताए। पुलमा आवतजावत बन्द हुँदा मालिका र धवलागिरि गाउँपालिका जाने सवारीसाधन वारीपारी रोकिएका छन्।
खोलामा पानीको सतह बढेको र तत्काल काम गर्न समस्या हुने उनले बताए। तर कार्यालयले पुललाई भत्किनबाट जोगाउने उपायाको खोजी गरेको उनको भनाई छ। खोलाको शिरमा ठूलो पहिरो गएको र आगामी दिनमा अझै खोला बढेर आउने भएकाले पुल उच्च जोखिममा परेको उनले बताए।
उनका अनुसार पुलको दुवै तर्फको भाग खोलाले खोलेको छ। खोला गहिरिएर बग्न थालेको छ। पुल बनाउँदा खोला माथिबाट बग्ने गरेको र विस्तारै गहिरिदै जाँदा पुल जोखिममा परेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताए।
मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका,पूर्वाधार विकास कार्यालका प्रमुख अधिकारी लगायतको टोलीले पुलको अवस्थाका वारेमा विहिवार स्थलगत अनुगमन गरेको थियो। पुलको तत्काल मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयहरुले माग गरेका छन्। गोरखापत्रबाट