काठमाडौं। सार्वजनिक सञ्चारमाध्यमले आपसमा समन्वय र सहकार्य गर्दै जनचासोका आधिकारिक समाचार सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका कार्यकारी प्रमुख तथा समाचार प्रमुखबीच रासस केन्द्रीय कार्यालयमा भएको छलफलमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकुल द्रुतगतिमा समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याइयो ।
आमसञ्चार क्षेत्रका अनुभवी एवम् दक्ष जनशक्ति रहेका सार्वजनिक सञ्चारमाध्यमले राज्य र आमजनताको आवाज बुलन्द गर्न सक्नुपर्ने बताउँदै उनीहरूले प्रभावकारी तथा एकीकृतरुपमा समाचार सम्प्रेषणका लागि आपसी सहयोग र सहकार्यमा जोड दिएका हुन् ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जनचासोका विषयलाई प्राथमिकता दिई एकीकृत ढङ्गबाट आमजनताको आवाज मुखरित गर्ने पक्षमा देशका सबै सार्वजनिक सञ्चारमाध्यमले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले सरकारी समाचारलाई मात्र प्राथमिकता दिने गरेको आक्षेपाबाट देशका सबै सार्वजनिक सञ्चारमाध्यमहरु मुक्त हुनुपर्नेमा जोड दिँदै सामाजिक विकृति र विसङ्गति उजागर गर्दै आमजनताको मन जित्नेतर्फ लाग्नुपर्ने सुझाव दिए ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सार्वजनिक सञ्चारमाध्यमका बीच समाचार सङ्कलन, सम्पादन र नीतिगत विषयहरु तथा तहसमेतमा नियमित छलफल तथा अन्तरक्रिया आवश्यक रहेकाले यस्ता विषयका छलफललाई निरन्तरता दिनुपर्ने बताए ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री र प्रमुख समाचारदाता प्रमोद दाहालले सार्वजनिक सञ्चारमाध्यमका कमीकमजोरीलाई हटाउँदै भरपर्दो र विश्वसनीयरुपमा समाचार सम्प्रेषण गरी आम नागरिकलाई सूचना प्रदान गर्न लाग्नुपर्ने बताए ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, राससका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका समाचार संयोजक पुष्पहरि क्याम्पाराई, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवप्रसाद भट्टराई, राससका नायब महाप्रबन्धक सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक र अंग्रेजी समाचार सेवा प्रमुख दीपराज सन्यालले सार्वजनिक सञ्चारमाध्यमलाई थप प्रभावकारी र सशक्त बनाउन आफ्ना सेवाहरुमा समयानुकूल परिमार्जित र अध्यावधिक गर्दै लैजानुपर्ने सुझाव दिए ।