उदयपुर। त्रियुगा नगरपालिका–१० बोक्सेमा करीब २ करोडको लागतमा भेटनरी अस्पताल निर्माण गरिएको छ। उदयपुर र खोटाङ दुई जिल्ला कार्यक्षेत्र भएको विज्ञ केन्द्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन बोक्सेमा तीन तले नयाँ भवन निर्माण गरिएको हो।
१ करोड ९८ लाख ७७ हजार ५ सय ८२ रुपैयाँ लागतमा कार्यालयको तीन तले भवन निर्माण भएको हो। भ्याटबाहेक २ करोड ८२ लाख ९० हजार १ सय ५६ रुपैँया ९ पैसाको लागत इस्टीमेट भए पनि निर्माण व्यवसायीहरूबीचको प्रतिस्पर्धामा पवित्र निर्माण सेवाले झण्डै ३० प्रतिशत कम मूल्यमा टेण्डर हालेर कामको जिम्मा पाएको विज्ञ केन्द्र प्रमुख डाक्टर अजय साहले बताए।
दुई वर्षभित्र अर्थात २०७९ असार ७ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७७ असार १२ गते गरेको सम्झौता भएको भवन म्याद सकिन ३ महिना बाँकी हुँदै सम्पन्न भएको उनले बताए। गत बैशाख महिनामा नै भवन हस्तान्तरणको तयारी गरेपनि स्थानीय तहको निर्वाचनमा सोही भवनमा मुख्यनिर्वाचन अधिकृतको कार्यालय रहेकाले हस्तान्तरणमा ढिलाइ भएको उनले बताए।
आकर्षक डिजाईनको अत्याधुनिक भवन कार्यालय प्रमु्ख कार्यकक्ष, सभाकक्ष, तीनवटै तलामा पुरुष(महिलाका लागि फरक फरक शौचालय, खानेपानी र कर्मचारीकक्षका लागि प्रसस्त कोठा र कार्यालय प्रमुखको निवाससहितको रहेको कार्यालयले जनाएको छ। भवन अपांगमैत्री रहेको छ।
भवनको उद्घाटन गर्दै १ नम्बर प्रदेशका कृषि मन्त्री झलकबहादुर मगरले किसानले खोजेको सेवा विस्तार गर्न समयानुकल परिवर्तन गर्दै लैजाने बताए। उनले विज्ञ सेवालाई ग्रामीणस्तरसम्म पुर्याउने गरी त्यहीँ किसिमको जनशक्ति तयार गर्न प्रदेश सरकार लागि परेको बताए। उनले एक जिल्लाबाट दुई जिल्लाको सेवा प्रभावकारी हुन नसक्ने देखिएकाले प्रदेश १ का सबै जिल्लामा विज्ञ सेवा सञ्चालन गर्ने सरकारको योजना रहेको सुनाए।
मन्त्री मगरले प्रदेश १ भौगोलिक विकटताले भरिएको जिल्ला भएकाले चुस्त प्रशासन प्रभावकारी सेवाको नीति अवलम्बन गर्नसमेत निर्देशन दिए। कार्यक्रममा प्रदेशसभा सदस्य नारायण बुर्जामगरले पशु, कृषि कार्यालय र त्यहाँका कर्मचारी सिधै किसानसँग जोडिने भएकाले किसानले बुझ्ने र सहज हुने गरी सेवा प्रभावकारी बनाउनुपर्ने बताए।