काठमाडौं। नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको निर्माण कार्य अगाडि बढेको छ। सडक विस्तारमा ठेक्का लागेको दुई खण्डको निर्माण कार्य अगाडि बढेको हो।
हाल आयोजनामा पूर्व तयारीका कामहरु सम्पन्न भएर निर्माण कम्पनी र आयोजनाको जोइन्ट सर्भे भइरहेको छ। आयोजनाको कन्स्ट्रक्सनका लागि साइडमा क्याम्प निर्माण गर्नेदेखि साइट क्लियर गर्ने काम भइरहेको आयोजनाले जनाएको छ।
यसैगरी आयोजनाको पहिलो खण्ड नागढुंगा–नौबिसेसम्म र दोस्रो खण्ड नौबिसे–मलेखुसम्मका लागि परामर्शदाता र ठेकेदार कम्पनीको लागि नयाँ अफिसहरु निर्माण गर्ने कार्य भइसकेको छ। कार्कीका अनुसार आयोजनामा कुन कुन क्षेत्रको जनशक्ति आवश्यक पर्छन्, सोही अनुसार कामदार आउन थालेका छन्।
निर्माण व्यवसायी र आयोजनाबीच भइरहेको जोइन्ट सर्भेमा डिजाइन जाँच र समिक्षा गर्ने काम पनि भइरहेको बताइएको छ। भौतिक निर्माणको लागि पोइन्ट राख्ने, इन्जिनियरिङ, विद्युतका पोल र रुखहरु हटाउने कामहरु भइरहेको छ।
आयोजनामा पर्ने रुखहरु काट्न स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइएको छ। यसमा पनि वातावरणीय प्रभाव रिभाइज्ड गर्ने काम भइरहेको कार्की बताउँछन्। कटान स्वीकृतिको लागि सम्बन्धित निकायमा पत्र पठाइएको पनि उनले बताए। आयोजनामा लगभग २३०० वटा रुखहरु कटान गर्नुपर्ने हुन्छ।
आयोजना आवश्यक पर्ने ल्याब धुनिबेसीमा खोलिसकिएको छ। यस्ता ल्याबमा आयोजनाले गुणस्तर तथा निर्माण कार्यको प्राविधिक चेकजाँच गर्छ। जसमा इन्जिनियरहरुले ल्याबमा आर्किटेक्ट डिजाइन निर्माण गर्छन्। कन्स्ट्रक्सन ल्याबमा परियोजनाको अवधारणा र निर्माणको खाका तयार पारिन्छ। डिजाइनरले निर्माण गरेको डिजाइन र स्क्ट्रक्चर अनुसार साइटमा निर्माण कार्य गरिन्छ।