काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयको पुनःनिर्माण गरिएको छ। सो शौचालयलाई अत्याधुनिक रुपमा पुनःनिर्माण गरिएको हो।
कामपा–२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री छन्। पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन्। उक्त नवनिर्मित शौचालयको कामपा–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिरबार शुभारम्भ गरेका हुन्।
कामपाका प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो राखेका छन्। सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित। महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ। यसका लागि महानगरपालिका सहयोग गर्न तयार भएको उनले बताए।
शौचालयमा प्रयोग भएको आकासेपानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले शौचालयलाई सिकाइ केन्द्रका रुपमा विकास गर्न सकिने सुझाव समेत दिएको छन्।
सन् २०२० देखि काठमाडौँ र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिला, अपाङ्ग तथा वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय बनाउन एरोसान सस्टेनेबल स्यानिटेसनले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ।
वडावासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुलाई सुविधासम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व हो भने आगामी दिनहरुमा पनि आवश्यकताअनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथमिकता दिने बताइएको छ।