कल्याणपुर। सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ। खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो।
तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गबलीको मन्दिर एक साता नबित्दै ढलेको हो। कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निर्माण भएको मन्दिर ढलान भएको सात दिनमै भत्किएको छ।
आर्थिक बर्ष २०७८–७९ मा बडहरामा रहेको अधुरो बजरङ्गबली मन्दिर निर्माण कार्यका लागि गाउँपालिकाले १० लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो । योजना निर्माण उपभोक्ता समितिका सचिव बिशो यादवका अनुसार गाउँपालिकाको प्राविधिकले मन्दिर निर्माणका लागि तीन स्टेपको डिजाइन बनाएर दिएको थियो।
सोही बमोजिम असार २९ गते मन्दिरको तेस्रो स्टेपको छत ढलान भएको थियो । छत ढलानको लागि जुन सेटरिङ्ग लगाएको थियो, सो सेटरिङ्गबालाले सेटरिङ्ग खोलेको कारण मन्दिरको छत भत्केका उनले जानकारी दिए।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले मन्दिर निर्माण कार्यमा के कस्तो गुणस्तर सामान प्रयोग भएको हो, सोबारे प्राविधिक इन्जिनियर दिनेश माझीलाई जानकारी हुनुपर्ने बताए। मन्दिर भत्केको जानकारी पाएलगतै बैंकसँग सम्पर्क गरेर सबै भुक्तानी रोक्का गरिसकेको उनको भनाइ छ।
त्यस्तै, खडक नगरपालिका १ मा १० लाख लागतमा सोही डिजाइनमा बनाइएको शशिया महाराजको मन्दिर बनाएको एक साता नबित्दै भत्किएको हो। सब इन्जिनियर विश्वप्रकाश झाको डिजाइन र स्टिमेटमा बनाइको मन्दिरमा कमसल सामान प्रयोग गरिएको स्थानीय देवकान्त चौधरीले जानकारी दिए। उनका अनुसार कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निर्माण भएको मन्दिर ढलान भएको दुई चार दिनमै भत्किएको हो। गोरखापत्रबाट