काठमाडौं। हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन्। आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन्। थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन्।
एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङले बताएको छ। जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ।
हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएका छन्। सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएका छन्। जिल्लामा ५३ उद्योगको नवीकरण, पाँच उद्योगको नामसारी, छ उद्योगको पूँजी वृद्धि, तीन उद्योगको नाम परिवर्तन, दुई वटाको लगतकट्टा र छ उद्योगको प्रतिलिपि बनाइएको बताइएको छ। वाणिज्यतर्फ पाँच नयाँ दर्ता, सात नवीकरण, दुई नामसारी, तीनको पूँजी वृद्धि, एकको नाम परिवर्तन, एकको प्रतिलिपि, एकको लगतकट्टा गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा उद्योगतर्फ कूल चार सय ८५ र वाणिज्यतर्फ कूल ९३ सञ्चालनमा रहेको घरेलु कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा उद्योगतर्फ कूल चार सय ३६ र वाणिज्यतर्फ कूल ८८ सञ्चालनमा रहेका थिए। घरेलु कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उद्योगतर्फ रु तीन लाख आठ हजार एक हजार ५० राजश्व सङ्कलन गरेको छ। त्यस्तै सोही अवधिमा वाणिज्यतर्फ रु १९ हजार आठ सय २५ राजश्व सङ्कलन गरेको छ। अन्यबाट रु दुई हजार आठ सय २० गरी कूल तीन लाख ३० हजार सात सय ९५ राजश्व सङ्कलन भएको बताइएको छ।
उद्योगलाई टिकाउ बनाउन विभिन्न तालिमका साथै प्रविधिको उपयोगलाई प्राथमिकता दिन सञ्चालकलाई सचेत गराउने र उद्योगलाई सक्रिय बनाइरहन प्रोत्साहनसमेत गर्ने गरिएको कार्यालयले जनाएको छ।