दाङ। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ३ वटा जिल्लामा १९ झोलुंगे पुल निर्माण भएका छन्। रुकुम, दाङ र रोल्पामा गत आर्थिक वर्षमा १९ वटा पुल निर्माण भएका हुन्।
पुल निर्माणको काम गर्दै आएको सेवा प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय दाङका अनुसार ३ जिल्लामा २७ वटा पुलहरू निर्माणाधीन छन्। रुकुम पूर्वमा १२ वटा, दाङमा १४ वटा र रोल्पामा एक वटा निर्माणाधीन रहेका छन्।
ती पुलहरू निर्माण भएपछि हजारौँ नागरिकहरूलाई सहज हुने छ। पुल नहुँदा वर्षायाममा बाढीको डर त्रासका बाबजुत नागरिकहरूले यात्रा गर्दै आएका थिए। उक्त संस्थाले दाङ, रोल्पा, प्यूठान, रुकुम २ जिल्लामा पनि झोलुङ्गे पुल निर्माण गरेको छ।
संस्थाले दाङका १० स्थानीय तहमध्ये बबई गाउँपालिका र राजपुर गाउँपालिकालाई बढी प्राथामिकता दिएर काम गरेको छ। यी स्थानीय तह अन्यभन्दा विकट क्षेत्र भएका र त्यहाँ पसलहरूको अति आवश्यक रहेकाले बढी प्राथमिकता दिएर काम गरेको संस्थाले जनाएको छ।
यस्तै, गत आर्थिक वर्षमा घोराही उपमहानगरका २ वटा, बबई गाउँपालिकामा २ वटा र तुलसीपुरको पातुखोलामा अटोरिक्सा नै चलाउने मिल्ने एक वटा पुल निर्माण गरेको संस्थाका प्राविधिक दिपेश गौतमले जानकारी दिए।
उनका अनुसार दाङको राप्ती गाउँपालिकामा एक वटा, लमही नगरपालिकामा एक वटा, गढवा गाउँपालिकामा एक वटा, राजपुर गाउँपालिकामा २ वटा, बंगलाचुली गाउँपालिकामा २ वटा, तुलसीपुर उपमहानगरमा २ वटा, शान्तिनगर गाउँपालिकामा एक वटा, दंगीशरण गाउँपालिकामा एक वटा, बबई गाउँपालिकामा ३ वटा र सुनिल स्मृति गाउँपालिका रोल्पामा एक वटा झोलुङ्गे पुल निर्माणाधीन रहेको छ।
यस्तै, चालु आर्थिक वर्षमा २२ वटा झोलुङ्गे पुल निर्माणको लागि बजेटमा समावेश भएर आएको पनि उनले बताए। उनले स्थानीय तहमा पुल निर्माणको लागि काम गर्दा धेरै समस्या भोग्नु परेको गुनासो गरे।
पुल निर्माणको पैसा निकासी गर्दा समस्या, सामुदायिक सम्झौता समयमा नगर्ने, स्थानीय तहले उचित समन्वय गर्ने, समयमा योजना कार्यान्वयन नगर्ने र समयमै स्टील पार्ट टेन्डर तथा खरिदमा स्थानीय सरकारले चासो नदिँदा पुल निर्माणमा ढिलाई हुने गरेको उनको भनाइ थियो।
यस्तै, चालु आर्थिक वर्षभित्र दाङमा पुल निर्माणको लागि तुलसीपुरमा ३० लाख, घोराहीमा २० लाख, लमहीमा ३० लाख, राजपुरमा ८० लाख, गढवामा ३० लाख, राप्ती गाउँपालिकामा ३० लाख, बंगलाचुलीमा ३५ लाख, दंगी शरणमा २० लाख, शान्तिनगरमा १५ लाख र बबई गाउँपालिकामा ९५ लाख गरी ३ करोड ८५ लाख बजेट आएको पनि उनले बताए।
यस्तै, गत आर्थिक वर्ष दाङमा पुल निर्माणको लागि ३ करोड २० लाख र रोल्पाको लागि ३५ लाख बजेट आएको पनि उनको भनाइ छ। यस्तै पूर्वी रुकुममा गत आर्थिक वर्षमा २ वटा र पश्चिम रुकुममा १२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र पूर्वी रुकुममा १२ वटा पुलहरू निर्माणाधीन रहेको जिल्लाका कार्यक्रम संयोजक रणवीर रावलले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा पूर्वी रुकुममा १२ वटा र पश्चिम रुकुममा १६ वटा झोलुङ्गे पुलको लागि बजेट समावेश भएको छ।