काठमाडौं। नलिञ्चोकस्थित हेलिप्याड निर्माणको ठेक्का उमा एण्ड कम्पनीले पाएको छ। नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पूर्वाधार आयोजना अन्तर्गत नलिञ्चोकस्थित हेलिप्याड निर्माणको ठेक्का उमा एण्ड कम्पनीलाई दिइएको हो।
प्राधिकरणले पाँच प्रस्तावकमध्ये प्रतिस्पर्धाका आधारमा छनोट भएको कम्पनीलाई ठेक्का दिएको प्रवक्ता जगन्नाथ निरौलाले बताए। १५ करोड रुपैयाँमा सम्झौता भएको यो ठेक्कामा एक वर्षभित्रै काम पुरा गर्नु पर्ने गरी सम्झौता भएको छ। हेलिप्याड स्थानान्तरण भएसँगै त्यहाँ सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तार गरिने समेत बताइएको छ।
हेलिप्याड निर्माणका लागि ओम बुद्ध शिव खिम्ती जेभी, उमा एण्ड कम्पनी, कालिका आरआर क्रिसा जेभी, समानान्तर निर्माण सेवा, कान्छाराम आरए–जेभी लगायतका पाँच कम्पनीले दर्खास्त दिएका थिए।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ‘एयर ट्राफिक कन्जेसन’ कम गर्ने उद्देश्यले नलिन्चोकको ३३ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न स्थायी हेलिप्याड निर्माण गर्न लागेको हो। नयाँ हेलिप्याडमा एक पटकमा २७ हेलिकोप्टर पार्किङ गर्न सकिनेछ।
सुरुआती चरणमा हेलिप्याड तयार पार्नका लागि १५ करोड रुपैयाँ खर्च गरिने र दोस्रो चरणको भवन संरचनाका लागि कम्तिमा थप १५ करोड रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ।
यो हेलिप्याड संचालनमा आएसँगै नेपालका कुनै पनि गन्तव्यमा हेलिकोप्टर सेवा संचालनका लागि सहज र सुविधा हुने जनाइएको छ।