पोखरा। पोखरामा एटिएम मेशिन फोडेर चोरी गर्ने घटना दिनहु बढ्न लागेको छ। पोखराको विरौटामा रहेको एनआईसी एसिया बैंकको एटिएम मेशिन फोडी नगद चोरी गर्दै गर्दा एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरामा अन्तरास्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ। विमानस्थल संचालनमा आएपछि पोखरा घुम्न लाखौको संख्यामा पर्यटक पोखरा भित्रने आकलन गरिएको छ । पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय नगर घोषणा गर्ने तयारी भैइरहदा पोखराभित्र नै यस्ता घटनाहरु बढ्दै गर्दा सुरक्षामा फितलो देखिएको छ। एकपछि अर्को गर्दै चोरीका घटनाहरु बढ्दै गएका छन् भने अरु घटनाहरु पनि बढी रहेका छन् । पर्यटकहरु घुम्नको लागि आउने स्थानमा नै यस्ता घटना हुदै गर्दा यसले पर्यटन व्यवसाय धरापमा देखिएको छ।
साउन ४ गते पोखरा २६ को अघौचोकमा रहेको एनएमभी बैकको एटिएम फोडेर १५ लाख चोरी गर्ने अभियुक्तको प्रहरीले सुइङ्को समेत पाएको छैन। गत असार ३१ गते पोखराको न्युरोडस्थित महानगरपालिका अगाडी रहेको एनआईसी एसिया बैंकको एटीएम फोडेर भागेका अभियुक्तलाई समातेको थियो। त्यस्तै केहि महिना अगाडी पोखराको महेन्द्रपुलमा एक वृद्धालाई बिभिन्न बहाना देखाएर नक्काली सुन दिएर सक्कली सुन लिएर केहि ब्यक्तीहरु फरार भएका थिए भने कास्की प्रहरीले अझै पनि उनीहरुलाई पक्राउ गर्न सकिरहेको छैन।
हिजोमात्रै पोखराको नदीपुरमा रहेको कन्या मार्गमा पार्किङमा राखिएको तिन वटा निजि सवारीको सिसा फोडी सामान चोरी भएको छ। चोरीमा संलगनको खोजि हुदै गर्दा पिडितहरु कास्कीको सुरक्षा अवस्था असुरक्षित मानिरहेका छन्। पोखरामा बिभिन्न समयमा पत्रकार सम्मेलन गरेर सुचना दिने प्रहरीले पनि असफलता बाहिर नाआओस भनेर यस्ता घटनाको बारेमा सार्वजनिक जानकारी नदिने र केहि सफलता मात्र बाहिर ल्याउने गरेका छन्।
कास्कीमा चोरी बाहेकका घटनाहरुमा संलग्न रहेका धेरै अपराधीहरु पनि यति बेला फरार नै रहेका छन्। केहि महिना अगाडी पोखराको लुम्लेमा रहेको जंगलमा शंकास्पद बच्चाको शव फेला परेको थियो। घटनास्थल हेर्दा र स्थानीयले दिनुभएको जानकारी अनुसार सानो उमेरको बच्चाको शव भेटिएको स्थानमा सानो बच्चा पुग्न असम्भव रहेकै कारण घटना थप शंकास्पद रहेको बताएका थिए। लामो समय बित्दा पनि यस घटनाको वास्तविकता बाहिर आएको छैन।
पोखराको अधिकारी टोलमा भित्र महिलाको शव रहेको थियो भने श्रोतका अनुसार श्रीमानले “म सेतीमा ज्यान फाल्नको लागि गए” भनेर लेखेको नोट फेला परेको थियो। महिलाको शव फेला परेको स्थानमा घर बाहिरबाट ढोकामा ताल्चा लगाइएको थियो। श्रीमान चिठी लेखेर कता फरार भए अहिले कास्की प्रहरीलाई अत्तो पत्तो छैन। दुर्गम ठाउमा माईती भएको र यस बिषयमा प्रहरीकोमा बेला बेलामा आउँन नपाएकै कारण छोरीले न्याय नपाएको माईतीको आरोप् रहेको छ। कुहिएको अवस्थामा भेटिएको शव शंकास्पद रहेका कारणले राम्रो संग अनुसन्धान भएर न्याय पाउने पर्खाईमा पिडित परिवार रहेका छन्।
त्यस्तै पोखराको मालेपाटनमा गत साल तिहारको समयमा भएको दुर्घटनामा एकजना बालकको मृत्यु भएको थियो। बालकको मृत्यु के कारणले भयो र कुन सवारीले ठक्कर दिएर सवारी फरार भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताए पनि अझै पनि फरार सवारी र चालक पक्राउ परेका छैनन्। पोखरामा भएका यी घटनाहरु नमुना उदाहरण मात्र हुन् यस्तै धेरै घटनाहरु रहेका छन् भने पिडितहरु न्यायको खोजीमा भौतारीएका छन्।