काठमाडौं। विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्याँसको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा जिआइजेड।इन्डेभले हिजो आयोजना गरेको नेपालमा विद्युतीय चुलोको प्रवद्र्धन, भूमिका, उत्तरदायित्व, अवसर र अवधारणा विषयक कार्यशालाका सहभागीले मुलुक विस्तारै विद्युतीय ऊर्जामा आत्मनिर्भर हुन गइरहेको सन्दर्भमा विद्युतीय चुलाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने र यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाले उपयुक्त नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यशालामा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले स्वदेशी विद्युत् खपत बढाउन विद्युतीय चुलोको प्रयोगसँगै रोप–वेजस्ता प्रविधिहरुको प्रवद्र्धन गर्न सकिएमा आयातीति इन्धनको निर्भरता कम गर्न सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने विश्वास व्यक्त गरे। उनले ग्रामीण क्षेत्रमा निर्माण गरिएका लघुजलविद्युत् आयोजना, वायोग्यासजस्त प्रविधिको दिगो सञ्चालनबाट स्वच्छ भान्छाको अभियान सफल हुने बताउँदैआम जनतादेखि नीतिनिर्माण गर्ने तहसम्म व्यवहार, प्रविधि र व्यवस्थापनमा नवीनता ल्याउन जरुरत रहेको उल्लेख गरे।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य कपिल आचार्य, वातावरणविद् भुषण तुलाधर र ऊर्जाविद् डा. इन्दिरा शाक्यले पनि नेपालको आर्थिक समृद्धि र जनताका जीवनस्तरमा सुधार ल्याउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुको विकल्प नभएको तर्क गरे।
कार्यक्रममा अजम्बरी फाउण्डेशनका सुवर्ण कपालीले आयातित ग्याँसलाई न्यूनीकरण गरी स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउने उद्देश्यले २०७५ सालदेखि विद्युतीय चुलो राष्ट्रिय अभियानको कार्यान्वयन र यसका सिकाइहरुका बारेमा तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा. रणबहादुर थापाले विद्युतीय चुलोको कार्यान्वयन र प्रवद्र्धनका लागि सरकारले लिएका रणनीति र योजनाको बारेमा प्रस्तुतिकरण दिएका थिए।