काठमाडौं। ९६ रोपनी जग्गामा ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री क्वाटर आगामी बैशाखसम्म सम्पन्न हुने भएको छ। अहिलेसम्म मन्त्री क्वाटर निर्माणको काम करीव ७५ प्रतिशत सम्पन्न भएको शहरी विकास मन्त्रालयले जनाएको छ।
यही कार्तिकभित्र मन्त्री क्वाटर निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको भएपनि कोभिड महामारीका कारण निर्माणमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ। हाल भैंसेपाटीमा २४ मन्त्री क्वाटर, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको आवास निर्माण भइरहेको छ। हनुमान कन्स्ट्रक्सन कम्पनीले मन्त्रीका आवास निर्माण गर्ने काम पाएको थियो।
त्यस्तै पहिलो चरणमा भवन निर्माणको काम सम्पन्न भएपछि दोस्रो चरणमा अरु आधुनिक सेवा सुविधाहरु निर्माण गरिने भएको छ। दोस्रो चरणको कामका लागि हाल ठेक्कापट्टाको मूल्यांकन लगायतको पूर्वतयारी रहेको र छिट्टै दोस्रो चरणको कामका लागि ठेक्कापट्टाको प्रकृया सुरु गर्ने मन्त्रालयले जानकारी गराएको छ।
निर्माण हुँदै गरेको मन्त्री क्वाटरमा हेल्थ क्लब, स्वीमिङ पुलदेखि हेलिप्याडसम्म निर्माण गरिने भएको छ। साथै, ग्रिनरी, कम्युनिटी हल, ग्रोसरी सप लगायत सुविधाहरु पनि दोस्रो चरणमा निर्माण हुनेछन्। सो मन्त्री क्वाटरका भवन नेपाली मौलिक शैलीमा निर्माण गरिँदै छ जहाँ प्रवेशका लागि निजी र सार्वजनिक गरी दुईवटा प्रवशद्बार हुनेछन्। सो परियोजनाभित्र आन्तरिक सडकका लागि २१ रोपनी क्षेत्रफल छुट्याइएको छ। आवास परियोजनाभित्र मन्त्रीका परिवार, पाहुना लगायतका लागि प्रर्याप्त पार्किङ सुविधा उपलब्ध हुनेछ साथै एक सयवटा गाडी पार्किङ गर्न मिल्ने पार्किङ स्थल पनि निर्माण गरिनेछ।
उक्त मन्त्री क्वाटरको भुइँतलामा लबी, मिटिङ रुम, मन्त्रीले मान्छे भेट्नका लागि निजी कोठा, कर्मचारी सुत्ने कोठा, गार्ड कोठा आदि हुनेछन्। त्यस्तै पहिलो तलामा मन्त्री सुत्ने मास्टर बेडरुम, परिवारका सदस्यहरु सुत्ने कोठा, बैठक कोठा, भान्छा र डाइनिङ रुम हुनेछन्। दोस्रो तलामा पाहुना सुत्ने र बस्ने २ वटा कोठा, पुजा कोठा र लाउन्ड्री हुनेछ।
आवास परिसरमै प्रर्याप्त खुला ठाउँ र चौडा सडक हुने भएकोले मन्त्री र उनका परिवारका सदस्यहरुले भित्रै मर्निङवाक गर्न सक्नेछन्। आवास स्थलभित्रै ग्रोसरी सप निर्माण हुने भएकोले गर्दा किनमेल गर्न पनि बाहिर जानुपर्दैन। हाल मन्त्रीहरुको निवास ललितपुरको पुल्चोकमा रहेको छ जुन भवन साँघुरो र पुरानो भएको कारणले नयाँ मन्त्री भवन निर्माण गर्न लागिएको हो।