मुगु। रारा राष्ट्रिय निकुञ्जले अनुमति नदिँदा मुगुको सदरमुकाम गमगढीदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणको काम अवरुद्ध भएको छ। गत वर्ष नै गाउँपालिकाले प्रारम्भिक रूपमा वातावरणीय प्रभाव मूल्यांकन गरेर अनुमति माग्दा निकुञ्जले नदिएपछि सडक निर्माण अलपत्र परेको हो।
गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याडवासी एक दिन पैदल हिँडेर सदरमुकाम आउजाउ गर्न बाध्य छन् । गमगढीदेखि राराको माथिल्लो मिलीचौरसम्मको १६ किलोमिटर सडक निर्माणको काम भने सकिएको छ ।
निकुञ्ज क्षेत्रमा सडक नबन्दा खत्याडवासीलाई जुम्लाको गोठीज्युला भएर गमगढी पुग्नुपर्ने बाध्यता छ । यो यात्रा तय गर्न एक दिन पूरै लाग्छ । त्यसैले स्थानीयवासी पैदलै हिँडेर आउजाउ गर्ने गर्छन। निकुञ्जबाट सडक खनिएमा करिब ५ घण्टामै सदरमुकाम पुग्न सकिने स्थानीयको भनाइ छ । खत्याड गाउँपालिकादेखि निकुञ्जसम्म जोड्ने ग्राभेल सडक निर्माण भइसकेकाले पनि निकुञ्जले अनुमति दिनुपर्ने हो । तर निकुञ्जले सडक छेकेर आफूहरुलाई दुख दिएको स्थानीयको गुनासो छ।
सडक निर्माण रोकिएपछि खत्याड, हयाङलु, सुकाढिक, रातापानी, बिना, रिघालगायत बस्तीका स्थानीय हिँडेरै सदरमुकाम आउन बाध्य छन् । सडक नबन्दा बिरामीलाई स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । जिल्ला अस्पताल टाढा हुँदा अधिकांश बिरामी उपचारका लागि बाजुराको कोल्टी जाने गरेका छन् । निकुञ्जको बाटो भएर सदमुकाम आउँदा वन्यजन्तुले आक्रमण गर्ने जोखिम रहेको स्थानीय कमानबहादुर रावतले बताए । उतातिर पनि खत्याडको गम्थादेखि निगालबोट हुँदै समानेसम्मको सडक बनिसकेको भए पनि निकुञ्ज क्षेत्रको १७ किमिमा सडक खन्न समस्या भएको गाउँपालिका उपप्रमुख सरिता रोकायाले बताइन् ।
उनका अनुसार सडक अभावमा स्थानीयले लामो समयदेखि ठूलो सास्ती भोग्दै आएका छन् । ‘निकुञ्जभित्रको अप्ठेरो बाटो दिनभर हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘वन्यजन्तुको डर र लुटपाट हुने जोखिम उत्तिकै छ ।’
जैविक विविधतामा असर पर्ने र वन्यजन्तु लोप हुने जोखिम भएकाले सडक खन्न अनुमति नदिएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । उनका अनुसार निगालबोटदेखि मुर्मासम्मको सडक निर्माणका लागि वातावरणीय अध्ययन र मन्त्रालयबाट अनुमति लिनेबारे निकुञ्ज र पालिकाबीच छलफल भइरहेको छ ।
याे पनि:
पर्यटकीय क्षेत्र रारा राजमार्गको सडक स्तरवृद्धिका लागि डीपीआर