काठमाडौं। रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनले सहयोग गर्ने घोषणा गरेको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्कासँगको भेटमा चिनियाँ समकक्षी वाङ यीले चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने घोषणा गरेका हुन।्
सम्भाव्यता अध्ययन सर्वेक्षणका लागि चीनले यसै वर्ष चिनियाँ प्राविधिक नेपाल पठाउने घोषणा समेत गरेको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। चीनको छिङ्ताओमा भएको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्दै आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुबै पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र नेपाल हिमाल र नदीले जोडिएको र पुस्तादेखि पुस्तासम्म मित्रवत रहेको बताएका छन्। उनले यसअघि मार्चको अन्तिम साता नेपाल भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई छिङ्ताओमासमेत दोहोर्याएका छन्।
भेटवार्ताका क्रममा उनले चीनले साना वा ठूला तथा धनी वा गरिब देशलाई बराबर रुपमा हेर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि नेपाललाई सधैं साथ दिने बताए। उनले नेपालको विकासका लागि नेपाल सुहाउँदो विकास पथका लागि चीनले सधैं सहयोग गर्ने बताए।
भेटवार्तामा उनले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत परियोजना सञ्चालन गर्न चीनले चाहेको बताएको चिनियाँ विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा भनिएको छ, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणको फलदायी नतिजालाई राम्रोसँग कार्यान्वयन गर्न, उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ संयुक्त रूपमा निर्माण गर्न, चीन र नेपालबीचको चिरस्थायी मित्रतालाई अगाडि बढाउन चीन नेपाली पक्षसँग काम गर्न इच्छुक छ।’
सो भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खड्काले दुई देशले एक अर्कालाई समान रुपमा व्यवहार गरेको र सधैं सम्मान गर्दै आएको बताएका थिए। उनले नेपाल–चीन सम्बन्ध ठूला र साना देशबीच मैत्री सहअस्तित्व, पारस्परिक लाभ र जीतको उदाहरण भएको बताएका थिए।