काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डको काम ७१ प्रतिशत सम्पन्न भएको छ। २०७३ मंसिरदेखि सुरू भएको आयोजना आगामी आर्थिक वर्ष २०८०/०८१ मा सक्ने योजनाका साथ काम अघि बढिरहेको हो।
मालढुंगा, पर्वतबाट कोरला, मुस्ताङसम्मको यो सडकको लम्बाई २०२ किलोमिटर छ। यो खण्ड निर्माणका लागि १० अर्ब ३५ करोड रूपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म झन्डै ६ अर्ब (पाँच अर्ब ८४ करोड) रूपैयाँ खर्च भएको आयोजनाले बताएको छ।
करिडोरको मालढुंगा-बेनी १३ किलोमिटर, बेनी-जोमसोम ७४ किलोमिटर र जोमसोम-कोरला ११५ किलोमिटर गरी तीन खण्डमा काम भइरहेको छ।
आयोजनाका अनुसार सडक निर्माणका लागि १४ वटा ठेक्का छन्। कालोपत्रेका लागि ७ र ग्राभेलका लागि ७ ठेक्का छन्। यीमध्ये ६ वटा ठेक्काको काम पूरा भएको भएको छ। ग्राभेल र कालोपत्रेको काम ८५ प्रतिशत सकिएको सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले जानकारी दिए।
बेनी–जोमसोम खण्डको ७४ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा २६ किलोमिटर सकिएको छ। यो खण्डमा ३८ वटा पुल बनाउनुपर्नेमा पाँच वटा सकिए छ भने १६ वटा बनिरहेका छन्। १९ वटा पुलको डिजाइन तयार गरिएको छ।
गत आर्थिक वर्ष २०७८/०७९ मा यो सडक २० किलोमिटर चौडा गर्ने लक्ष्य थियो। त्यसमध्ये १९ किलोमिटर चौडा गरिसकिएको विभागले बताएको छ।
कुल २०२ किलोमिटरमध्ये १७४ किलोमिटर चौडा गरिसकिएको छ। गत वर्ष ३१ किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखिएकोमा ३० किलोमिटर गरिएको छ। त्यस्तै ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकामा २० किलोमिटर सकिएको छ। चार वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा दुइटा मात्र बनेका छन्।
चालु आर्थिक वर्ष २०७९/०८० मा ८ वटा पुल बनाउने लक्ष्य छ। त्यस्तै थप २० किलोमिटर सडक चौडा, ३० किलोमिटर ग्राभेल र ३५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ। यो खण्डमा भिरकोटेमा ३०० मिटर सुरूङ बनाउने काम पनि बाँकी छ।