काठमाडौं । चीनले नेपाललाई यस वर्ष १५ अर्ब बढी अनुदान दिने घोषणा गरेको छ।
चीनको तीन दिने भ्रमणबाट बिहीबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री डा नारायण खड्काले दुई देशबीचको उच्चस्तरीय वार्ताका क्रममा चीनले नेपालालाई यस वर्ष १५ अर्ब बढी अनुदान दिने प्रतिवद्दता व्यक्त गरेको जानकारी दिए ।
मन्त्री खड्काले दुई देशबीचको हितका लागि विभिन्न विषयमा छलफल र सहमति जुटेको बताए ।
त्यस्तै रासायनिक मल उपलब्ध गराउनुका साथै नेपालमै रासायनिक मल उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्न चीन सहमत भएको छ। चीनले नेपालको कृषि क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्धता गरेको छ।
नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि चीन सहमत भएको छ।
त्यस्तै चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता गरेको छ। दोस्रो चरणको काठमाडौं रिङ्ग रोड सुधार परियोजनाको काम पनि छिट्टै सुरु गरिने भएको छ। केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमतिसमेत भएको छ। यसका लागि यसै वर्ष चीनले प्राविधिक टोली खटाउने सहमति भएको छ।
त्यस्तै नेपालको अनुरोधमा साढे ५ करोड बराबरको विपद् व्यवस्थापन तथा न्युनीकरणका लागि आवश्यक उद्धार तथा बन्दोबस्तीको सामान र पौने ४ करोड बराबरको औषधि तथा स्वास्थ्य सामग्रीहरु प्रदान गर्न चिनियाँ पक्षले सहमति जनाएको छ।
दुई देशबीचको सीमा निरीक्षणसम्बन्धी कार्य गर्न स्थापित स्थायी संयन्त्र संयुक्त सीमा निरीक्षण समितिको काम अघि बढाउन आवश्यक तयारीका लागि द्विपक्षीय प्राविधिक टोली गठन गर्ने विषयमा पनि सहमति भएको उनले बताए ।
परराष्ट्रमन्त्री खड्का तीन दिने भ्रमणका लागि मंगलबार राति चीन प्रस्थान गरेका थिए ।