काठमाडौं। गुल्मीको इस्मा गाउँपालिकामा पाँच वर्षअघि सुरु गरिएको एक सडकको ग्रावेलिङ्ग गर्ने काम अहिले अलपत्र भएको छ। रातचौर–ताल्तुङ्ग–उजुङ्गडाँडा–हर्पुकोट–नयाँपोखरा–मैदान–कोटकटेरी सडक ग्रावेलिङ्ग गर्ने कार्य अलपत्र परेको हो।
ठेकेदारले चाहेजति रकम निकासा हुन नसकेको भन्दै सडक ग्राभेलिङको काम अलपत्र छाडेका हुन्। अचम्म के भने दस्तावेज हेर्दा ठेकेदारले नौ करोडभन्दा बढी रकम सडक ग्राभेलिङका लागि भन्दै भुक्तानी बुझिसकेका छन्।
असारको पहिलो सातासम्म फाटफुट निर्माण कार्य भइरहेको सडकमा अहिले काम ठप्प छ। सडकका ‘पेटी’ ठेकेदारका रुपमा काम गर्दै आएका प्यूठानका वीरबहादुर थापाले मुख्य ठेकेदारबाट रकम नै भुक्तानी हुन नसकी आफू काम छाडेर भाग्नु परेको बताए। तर सरकारी निकायमा बुझ्दा भने मुख्य ठेकेदार सन्तोष भुसालले गत आर्थिक वर्षअघि नै नौ करोडभन्दा बढी रकम निकासी गरिसकेको पाइएको छ।
रौताहा हरिहरि जेभी काठमाडांै नामक निर्माण कम्पनीका सञ्चालक गुल्मी तम्घासकै सन्तोष भुसालले उक्त सडकमा ६२ प्रतिशत काम भएको प्राविधिक मूल्याङ्कन देखाई शिवपुरी सडक डिभिजन कार्यालय कपिलवस्तुबाट नौ करोड ३६ लाख २७९ रुपैयाँ ८८ पैसा रकम निकासी गरेको खुलासा भएको हो।
गुल्मी तम्घासमा रहेको सडक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर सूर्यप्रसाद भण्डारीका अनुसार २०७४ साल साउन १९ गते तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाबाट उक्त सडकको १३ किलो मिटर चौडा पार्ने, ढल नाली बनाउने, ग्रावेलिङ्ग गर्ने कार्यका लागि १३ करोड ५० लाख ९७ हजार १७० रुपैयाँ ९० पैसा लागतमा उक्त निर्माण कम्पनीका सञ्चालक सन्तोष भुसालले ठेक्का जिम्मा पाएका थिए।
उनले २०७७ साल फागुन २० गते उक्त काम सम्पन्न गरी बुझाउने सम्झौता भएको थियो । त्यति बेला बुझाउन नसकेपछि उनले दोश्रो पटक म्याद थपे। त्यस क्रममा तम्घास– सिमलटारी –प्यूठान सडक आयोजना खारेज भयो र शिवपुरी सडक डिभिजन कार्यालय कपिलवस्तुलाई हस्तान्तरण गरियो। २०७८ पुस महिनादेखि उनका अनुसार त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान विभागमा उजुरी परेपछि उक्त सडकको पुनर्मूल्याङ्कन गर्न एक टोली आएर फर्किएको छ।
सडक फराकिलो पार्ने काम सकियो । तर वाल पर्खाल र व्यवस्थित ढल–नाली नबनाउँदा कैयौं वस्तीउच्च जोखिमा परेको र ठेकेदारको चरम लापर्बाहीविरुद्ध जिल्ला प्रशासनमा समेत गएर कुरा राख्दा पनि निकास निस्कन नसकेको इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवर बताउँछन्।
इस्मा गाउँपालिका–२ मा वडाध्यक्षका उम्मेदवार लोकनाथ आचार्यले उक्त सडकमा २३ करोड रकम संघीय सरकारबाट विनियोजित भएको र ठेकेदार सन्तोष भुसालले १३ करोडमा ठेक्का पारेको बताउँदै उक्त निर्माण कार्य अलपत्र पर्दा वडा नम्बर २ का करिव आधा दर्जन घरहरु उच्च जोखिमा रहेको र खेती सिँचाइ गर्ने कुलाहरु समेत अवरुद्ध भएको बताए।
उक्त सडकमा जथाभावी डोजर चलाउँदा वडा नम्बर १ तरिखर्क गाउँका मात्रै झण्डै एक दजर्न घरधुरी उच्च जोखिमा परेका छन्। पहिरोले कैयौं व्यक्तिको आँगन समेत तानेर घर छाडेका छन्। तीनै विस्थापित मध्येका तरिखर्क गाउँका बजिरबहादुर कुँवर यसरी गुनासो सुनाउँछन्। ठेकेदारको लापर्बाही बढ्दै गएको बताउँदै इस्मा गाउँपालिका १ का वडाध्यक्ष शेरबहादुर कुँवरले त्यस सडकमा सम्झौताअनुसारको वाल पर्खाल र नालीहरु नबनाउँदा त्यहाँका थुप्रै घर बस्तीहरु उच्च जोखिममा रहेको बताए।
तरिखर्क गाउँका नारायणबहादुर कुँवरले त्यस सडक निर्माणका कामदारलाई खाना खुवाएका थिए। तर पैसा नतिरी काम गर्ने मानिसहरु हिंडे। झण्डै २७ हजारभन्दा बढी रकम बराबरको खाना खुवाएका कुँवर यति बेला पुन्पुरो समाउने भएका छन्। पेटी ठेकेदार वीरबहादुर थापाले मुख्य ठेकेदार सन्तोष भुसालले आफूलाई रकम नदिएर आफू भागेर बस्नु परेको फोनमा बताएका छन्। उता काठमाडौंमा रहेका मुख्य ठेकेदार सन्तोष भुसालले भने पेटी ठेकेदार वीरबहादुर थापाले आफूबाट बढी पैसा लिएर मर्कामा पारेको र गत असार मशान्तभित्र काम गरेको रकम समेत आफूले सम्बन्धित निकायबाट भुक्तानी लिन नपाएको प्रतिकृया दिएका छन्।
स्थानीय सरकारवाला भन्छन्–‘ठेकेदार र उनका पनि ठेकेदार बीचको लेनदेन सरकार र उपोक्ता जनताले जान्दैनन्। त्यो आपसमा मिल्ने मिलाउने कुरा हो तर कामको जिम्मेवारी लिएका र त्यति ठूलो रकम समेत बुझी सकेका मुख्य ठेकेदारले उक्त कामको जिम्मेवारी बेलैमा पूरा गर्न जरुरी छ।’ भुसाल भन्छन् –‘गत असार मसान्तसम्म गरिएको कामको सडक पूर्वाधार विकास कार्यालयले भुक्तानी नदिएर समस्यामा पारेको छ। त्यो भुक्तानीसँगै माघ महिनासम्म त्यो काम पूरा गर्नेछु।’
गुल्मीको अति व्यस्त सडकमध्ये एक मानिने रिडी–रुद्रवेणी सडकमा गाडी चल्न थालेकै चार दशक भइसक्यो। त्यसयता बर्सेनी स्तरोन्नतिका नाममा कहिले लाखौ त कहिले करोडौ रकम खर्च भइसक्यो। तर सडकको हविगत उस्तै छ। गत वर्ष केही भागमा भए पनि त्यस सडकमा कालोपत्रे हुने अपेक्षा राखिएको थियो । तर त्यही काम पनि अलपत्र नै रहन पुगेको सडक पूर्वाधार कार्यालय गुल्मीले जनाएको छ ।
त्यस कार्यालयका सूचना अधिकृत इञ्जिनियर सूर्यप्रसाद भण्डारीका अनुसार रुद्रवेणीदेखि ३ किलो मिटरसम्मको सडक कालोपत्रे गर्ने जिम्मा रौताहा हरिहरि जेभि कन्ट्रक्सनले पाएको थियो । उसले केही काम पनि गरेको थियो। तर पूरा काम हुन नसक्दा सो कार्यालयले भुक्तानी समेत रोकेको छ। सुरुमा मदन भण्डारी सडक आयोजनाबाट ठेक्का टेण्डर गरिएको त्यस सडकको तीन किलो मिटर उता क्रमशः दुई बेग्ला बेग्लै निर्माण कम्पनीले ठेक्का पाएका थिए। उनीहरुको भुक्तानी भएको छ। त्यस उता वामीटक्सारसम्म ठाउँ–ठाउँमा ग्रावेलिङ्ग गरिए पनि वर्षायाम लागे लगत्तै सडक आफ्नो पुरानै स्वरुपमा फर्किएको छ।
अझ कतिपय ठाउँमा त बाढी पहिरोले थप कस्टकर यात्रा बनाएको छ। सत्यवती गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल भन्छन्–‘टुक्रा टुक्रा ठेकेदारलाई जिम्मा दिइने र त्यो काम बालुवामा पानी खन्याए जस्तो भइरहने हुँदा एकै साथ गरेको भए हालसम्मको खर्चले उक्त सडक पिच नै भई सक्ने थियो।’
बडिगाड खोलाा लाइनको उक्त मोटरबाटो त सामाजिक सञ्जालमा धेरैका लागि ब्याङ्गको विषय बनेको छ नै। यता ईन्द्रगौडादेखि रातडाँडा छल्दीपनाहसम्मको मोटरबाटाको हविगत पनि उस्तै भएको छ। ईन्द्रगौडादेखि दजाकोट दलसम्म पिच गरेको दुई वर्ष नपुग्दै ठाउँ–ठाउँमा गिटी बालुवाले ठाउँ छाडेको छ र गाल्डा खुल्डी परेको छ।
उता इस्मा गाउँपालिकातर्फको झरनादेखि सिर्फ सल्लाह हुँदै हर्पुकोट पुग्ने मोटरबाटोमा गत वर्ष प्रदेश र इस्मा गाउँपालिकाले संयुक्त रुपमा ६० लाख बजेट छुट्टाए। आखिर टेण्डर २८ लाखमा दिइयो। काम भने जम्मा ८ लाखको मात्रै भएको थियो। लुम्बिनी दैनिकबाट