सर्लाही। सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) जनश्रमदानको काममा आफैँ खटिन थालेका छन्। उनी केही दिनदेखि सडकमा दुर्घटना गराउने जोखिम रहेका ढुङ्गा टिप्ने, बाढीले बिगारेको सडक पुनर्निर्माण गर्ने जस्ता काममा सरिक हुन थालेका हुन्।
शनिबार बिहान मात्रै नगरप्रमुख बुढाथोकीकै अगुवाईमा हरिवन नगरपालिका–८, फेदीमा कैलाशपुरी खोलाले बगाएको सडक पुनर्निर्माण गरिएको छ।
हरिवनदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित क्यानेश्वरतर्फ जाने सडक वर्र्षामा बाढी आएर बिगारेकोमा नगरप्रमुख बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ता र स्थानीयवासी समेतको उपस्थितिमा ढुङ्गा बिच्छयाएर पुनर्निर्माण गरिएको हो। झण्डै ४० मिटर सडक पुनर्निर्माण गरिएको स्थानीयले बताएका छन्।
नगरप्रमुख बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलसहित ४० जना भन्दा बढी स्थानीय दुई घण्टा श्रमदानमा खटिएका थिए। माओवादी केन्द्र सर्लाहीको संयोजक समेत रहनुभएका नगरप्रमुख बुढाथोकीले आवश्यकता अनुसार अब यसैगरी साप्ताहिक रुपमा जनश्रमदानको काम गर्दै जाने बताए।
नगरप्रमुख बुढाथोकी यसअघि हरिवन बजार क्षेत्रमा सवारी दुर्घटना हुने गरी सडकमा रहेका ढुङ्गो टिप्ने काममा खटिएका थिए। स्थानीयका अनुसार शनिबार दुई घण्टा जनश्रमदान गरेर ढुङ्गा बिच्छयाइएको फेदीस्थित कैलाशपुरी खोलामा अहिलेसम्म पुल बन्न सकेको छैन।
हरिवनबाट क्यानेश्वर जोड्ने करिव १५ किलोमिटर सडक वर्र्षायाममा बाढी आउँदा बन्द जस्तै हुने गरेको छ। दुई दशक अघि नै निर्माण भएको उक्त ग्रामीण सडक स्तरोन्नति नहुँदा हरिवन बजारसम्म आउजाउ गर्नुपर्ने क्यानेश्वर क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन्। गोरखापत्रबाट