गुल्मी। तपाई सोच्न सक्नुहुन्छ, गुल्मीमा एक बर्षमा कति किलोमिटर बाटो पक्की भयो होला? कम्तिमा सय किलोमिटर वा हजार किलोमिटर। अझ भनौ, एमाले नेता प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, कांग्रेसका चन्द्र भण्डारी, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री, माओवादीका सुदर्शन बरालजस्ता नेता उत्पादन गर्ने जिल्लामा राम्रा सडक होलान।
अर्थात् जिल्लाका अधिकाशं सडक पक्की भइसकेहोलान्। यो सोच्नु स्वभाविक पनि हो। तर जिल्लाको वास्तविकता भने ठीक उल्टो छ। सरकारी संयन्त्र कमजोर हुँदा जिल्लामा सडकका कामले गति लिन सकेको छैन। गत आर्थिक बर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर मात्रै बाटो पिच भएको छ। केही आयोजनाको म्याद थप गरिएका कारण लगाएका ठेक्काको पनि काम हुन सकेन।
निर्माण सुस्त गतिमा
गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन इकाई, मदन भण्डारी राजमार्ग र सडक डिविजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्छन। जसमध्ये मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक पिचको काम नै भएको छैन भने बाँकी तीन कार्यालयबाट मात्रै थोरै–थोरै मात्रामा सडक पिच गरिएको छ।
पिच गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तरगतका ठेक्काबाट ८.५ किलोमिटर सडक पिच गरिएको छ। तम्घास–रेसुङ्गा सडकअन्तरगत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ। आशिष रामेछाप जेभीले भ्याट बाहेक कुल १५ करोड १८ लाख ९९ हजार १०६ रुपैँया ७० पैसामा छ किलोमिटर सडक पिच गर्ने जिम्मा लिएको थियो । पिच नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ। हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार ३६९.९० रुपैँया भुक्तान भइसकेको छ।
तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी–नेटाखर्क–डडुवा–छिर्ने–पटौती–प्युठान सडकअन्तरगत तीन किलोमिटर सडक पक्की भएको छ। सडकको खाम्सेपानी–चेक्मी खण्डमा चार करोडभन्दा बढीको लागतमा सडक पक्की भएको हो। ०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्ट्रक्सन प्रालीले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो । पिचको काम पूर्णरुपमा नसकिएपनि ९५ भन्दा बढी काम सकिएकोले कार्यालयले पक्की सडकको सूचिमा राखेको छ।
खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाडा–सेउघाअन्तरगतको २।५ किलोमिटर सडक पिच भएको छ। ०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग कामको सम्झौता गरेको थियो। कुल ४।५ किलोमिटर सडक पिचका लागि कम्पनीले भ्याट बाहेक नौ करोड ४६ लाख ७३ हजार तीन सय रुपैँया ८५ पैसामा सम्झौता गरेको थियो। अहिलेसम्म कम्पनीको नाममा चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारले जानकारी दिए।
संघीय आयोजना कार्यान्वयन इकाईअन्तरगत ११२ मिटर सडक पिच गरिएको छ। रेसुङ्गा नगरपालिकाको पुनारो बजारदेखि हाटबजारसम्मको सडक पिच गरिएको हो। कुल ८५ लाखमा सडक पिच, ३०२ मिटर पिचमा कालोपत्रे थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा –७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सब–इन्जिनियर नारायण बुढा मगरले जानकारी दिए।
रुद्रवेणी–वामीटक्सार सडक अन्तरगतको वामी बजारको दुई किलोमिटर सडक पिच गरिएको छ। सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक बर्ष ०७६÷७७ मा सडक डिविजन पाल्पासँग सम्झौता ग¥यो। सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए।गत आर्थिक बर्षमै रेसुङ्गा नगरपालिका –७ स्थित भेटेनरी कार्यालय जाने सडक पिच गरिएको छ। प्रदेश समपुरक कोषबाट ३४ लाख लागतमा २४० मिटर सडक पिच भएको हो। पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले चालु आर्थिक बर्षमा पिचको काम बढी हुने बताए। ठेक्का भएका कामको समेत मौसम प्रतिकुलताका कारण काम गर्न नपाएको भन्दै भण्डारीले ति आयोजनाहरु चालु आर्थिक बर्षमा सकिने बताए। राजधानी दैनिकबाट