दोलखा। सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी फिल्म सिटी लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। फिल्म सिटीको पछिल्लो अवस्था बुझ्न सञ्चार मन्त्रालयका सचिव डा।वैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगे डाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ।
मन्त्रिपरिषद्ले ५ वर्षअघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशन दिएको थियो।
सोही आधारमा एक हजार ५०० रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत बनाइसकेको छ।
उक्त परियोजनाको सम्भाव्यता अध्ययनसहितको व्यवस्थापनमा सङ्घीय सरकारले केही रकम उपलब्ध गराए पनि पर्याप्त बजेट नहुँदा चलचित्र क्षेत्रको भविष्य जोडिएको यो काममा ढिलाइ भएको हो।
यसअघि नै मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६र२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एक सय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको थियो। ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो।
काठमाडौँबाट करिब एकसय नौ किमी पूर्वमा रहेको डाँङ्डुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिने छ।
इन्डोर र आउटडोर सुटिङका लागि धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९र६१ हेक्टरमा मात्र निर्माण हुने डिपिआरमा उल्लेख छ। फिल्म सिटी आसपासमा एयरपोर्ट, होटेल, रेलसहित बनाउनुपर्ने प्रस्ताव छ ।