काठमाडौं। पर्साको राजधानी वीरगन्जसँग ग्रामीण क्षेत्रलाई जोड्ने तिलावे पुल निर्माणको सात वर्षमा पनि अधुरो नै उद्घाटन गरिएको छ।
हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल तीन वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा निर्माण क्षेत्रमै बदनाम कमाएको ठेकेदार कम्पनी पप्पु र लुम्बिनी जेभीले ठेक्का पाएको थियो। पप्पु।लुम्बिनी जेभीले निर्माण गरेको पुल पूर्णरूपमा सम्पन्न नभई उद्घाटन गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइले शनिबार पुल उद्घाटन गरेका हुन्। साढे सात करोड रुपैयाँको लागतमा एक सय मिटर लम्बाइ र सात मिटर चौडाइ रहेको पुल समयमै निर्माण नहुँदा पर्साका ग्रामीण बासिन्दाले सास्ती खेप्नु परिरहेको थियो।
पुरानो पुल साँघुरो रहेको र सवारी साधनको चाप बढेका कारण ग्रामीण क्षेत्रका जनतालाई आवतजावतमा समस्या हुने गरेको थियो। साँघुरो पुलबाट दैनिक सयौं सवारी साधन आवतजावत गर्दा पुलमै घण्टौं ट्राफिक जाम हुने गरेको थियो। पुलको ९० प्रतिशत काम पूरा हुनुका साथै सम्पर्क सडक र नदी तटबन्धनको कार्यमात्रै बाँकी रहेकाले पुल उद्घाटन गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। बर्खा सकिएलगत्तै त्यसको निर्माण कार्य पनि सुरु हुने उनले बताए। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जअन्तर्गत निर्माण भएको पुल अधुरो नै उदघाटन गरिएको भन्दै व्यापक आलोचना पनि भएको छ। पुल उद्घाटनपछि बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्त्यिाक राईले वीरगन्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक चाडै विस्तार गर्ने पनि बताए। त्रिभुवन राजपथअन्तर्गत पर्ने मितेरी पुलदेखि गण्डकसम्म साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ (२५–२५ गज) सडक अतिक्रमण हटाउन एक साताभित्र सूचना प्रकाशन गरिने जानकारी दिँदै मन्त्री राइले सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालाई सूचना जारी गर्नसमेत निर्देशन दिए।
अदालतमा लामो समयसम्म विचाराधीन रहेको मुद्दा सर्वोच्च अदालतले २५ गज अर्थात् ७५ फिट सडक विभागको क्षेत्रमा पर्ने आदेश गरिसकेको बताउँदै मन्त्री राइले अतिक्रमण हटाउन एक साताभित्र सूचना प्रकाशन गरी नयाँ रोड निर्माणकार्य अघि बढाउन सडक विभागका महानिर्देशक थापालाई निर्देशन दिएका हुन्। वीरगन्ज पथलैया सडकअन्तर्गत पथलैयादेखि परवानीपुर–६ लेन र परवानीपुरदेखि गण्डकसम्म चार लेन सडक बनिसकेको छ। पुल उद्घाटनका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पर्सा क्षेत्र नं। ३ का निलम्बित सांसद हरिनारायण रौनियारसहित पुगेका थिए।
डाइभर्सन बनाउन नमान्दा पुल निर्माणमा ढिलाइ
तीन वर्षमा निर्माण गरिसक्ने गरी तिलावे नदीमाथिको पुल निर्माणका लागि २५ जेठ २०७२ मा निर्माण कम्पनी पप्पु।लुम्बिनी जेभीसँग सम्झौता भएको थियो। तर, पुलको नक्शा स्वीकृत गर्न ढिला गरेर तीन वर्ष लाग्यो। पुल निर्माणका लागि साविक पुलबाट आवागमन बन्द गर्नुपर्ने र डाइभर्सन निर्माण गर्नुपर्ने भएपछि निर्माण कम्पनीले सम्झौतामा डाइभर्सन निर्माण गर्नुपर्ने उल्लेख नगरेको भन्दै डाइभर्सन बनाउन नमान्दा ढिलाइ भएको थियो। डाइभर्सन नबन्दा पुल निर्माण रोकिएको थियो। पुल समयमा निर्माण नहुँदा पुरानो पुलमा घण्टौंसम्म जाम लाग्ने गरेको थियो। आयोजनाले २३ फागुन २०७५ मा मात्रै डाइभर्सन निर्माणको कार्यादेश स्वीकृति दिएको थियो । तर, डाइभर्सनका लागि रकम थप गर्नुपर्ने निर्माण कम्पनीले अत्तो थापेपछि पुल निर्माणकार्य रोकिएको थियो।
पप्पु कन्स्ट्रक्सनले आफ्नो ठेक्का नपरेको भन्दै पन्छिएको थियो। लुम्बिनीको नाम लगाएर पुल निर्माणमा राजनीतिक चलखेल भन्दै गलत प्रचार पप्पुले नै गरेको थियो। यसबीचमा परेको कोरोना महामारी र निर्माण सामग्रीको अभावजस्ता समस्या देखाएर निर्माण ढिलो भएको बहाना गर्न निर्माण कम्पनीलाई पनि सहज भएको छ। अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणासँगै निर्वाचनलाई लक्षित गरेर पुल निर्माण कार्यलाई तीव्रता दिएर हतारमा उदघाटन गरिएको छ। पुलको ३० फिट पहुँच मार्ग निर्माण गर्न अझै बाँकी छ। अधुरो निर्माणमै पुल उद्घाटन गरेको भन्दै आलोचना भएको छ। पुल भएर आवतजावत गर्नेले विरोध गरे पनि राजनीतिक दलहरूको बेवास्ताले पुल उद्घाटनको विरोध सशक्त बन्न सकेन।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि पुलको विषयमा केही बोल्न सकेको छैन। पार्टीका पर्सा अध्यक्ष जयप्रकाश थारु उनै पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक निलम्बित सांसद हरिनारायण रौनियारसँगै गएर उदघाटन कार्यक्रममा हार लागेर बसेका थिए। नेकपा माओवादी केन्द्रका नवप्रवेशी नेता टेकबहादुर शाक्य (अन्जन) पनि अधुरो पुल उद्घाटनको साक्षी बनेका छन्।कारोबारबाट