सुर्खेत। पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण गर्नका लागि अध्ययन कार्य सुरु गरिएको छ। सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) सम्बन्धी कार्य सुरु भएको हो ।
सरकारले चालु आवमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि चार करोड ४२ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । विमानस्थल भेरीगङ्गा नगरपालिका वडा नं ९, १० र ११ मा अवस्थित रामघाट–घारीवन क्षेत्रमा निर्माणको प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनियरिङ विभाग प्रमुख मुरारी भण्डारीले प्रारम्भिक सम्भाव्यता अध्ययनमा उक्त स्थान उपयुक्त देखिएकाले थप अध्ययन अघि बढाइएको जानकारी दिए ।
“वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया लामो हुने हुँदा सम्भाव्यता अध्ययनसँगै यसको काम पनि सुरु गरिएको छ”, उनले भने, “चालु आर्थिक वर्षभित्र अध्ययनका सबै काम सम्पन्न गर्ने तयारीमा छौँ ।” उनले विमानस्थल निर्माण हुने स्थानको चार किल्लाको टुङ्गो लागिसकेको बताए ।
प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीका अनुसार विमानस्थल धावनमार्ग (रनवे) को लम्बाइ दुई हजार पाँच सय मिटर र चौडाइ ४५ मिटरको हुनेछ । दुई सय २४ हेक्टर क्षेत्रफल ओगट्ने विमानस्थल पूर्व पश्चिम फैलिनेछ । त्यस्तै ट्याक्सीमार्ग एक हजार दुई सय ९६ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइनेछ । रामघाट क्षेत्रमा सम्भावना देखेर नै अध्ययनको काम सुरु गरिएको प्राधिकरणको भनाइ छ ।
यसअघि प्राधिकरणले पूर्वी सुर्खेतकै छिन्चु–मदानेचौर क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । त्यहाँ प्राविधिकरूपले उपयुक्त नदेखेपछि प्राधिकरणले गत वर्ष कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा सुर्खेत विमानस्थल विस्तारको योजना अघि सारेको थियो ।
प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विसं २०७८ असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब तीन सय मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो । जसका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेटसमेत छु्ट्याएका थिए तर स्थानीयवासीसँग सहमति नजुटेपछि र रात्रिकालीन रूपमा सञ्चालन गर्न कठिनाइ हुने भएपछि विकल्पमा रामघाटमा विमानस्थल निर्माण गर्न लागिएको हो ।