बागलुङ। पटक पटक हिलाम्मे, खाल्डैखाल्डा र आहाल जमेर अबरुद्ध हुने मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्डमा नाली अव्यवस्थित छ। धेरै स्थानमा नाली नै छैन भने कतिपय स्थानमा सडकमै पानी बग्छ।
मुख्य राजमार्गमै नालीको व्यवस्था नभएपछि हिउँदमा बनेका कतिपय संरचना बर्षात् लाग्दा नलाग्दै ध्वस्त भएका छन् । बनेका नाली पनि भत्केका छन्। कतै थुनिएका छन्। पानीको निकास नभएपछि बाढी आउँदा सडकमै बग्छ । जमेर कतै आहाल बनेका छन् भने कतै सडक हिलाम्मे छ।
सडकको अबस्थाले सवारीमा चढेर हिँडेका यात्रीले मात्र होइन, पैदलयात्रीले पनि सास्ती खेपेका छन्। काठेखोला गाउँपालिका–५ को राहाले र इनारपानी, वडा नंं ६ को किम्बोट र सुल्डाडा लगायतका स्थानमा त दर्जनौ स्थानमा पहिरो खसेको छ। कतिपय स्थानमा सडक साँघुरो भएर सवारी गुड्न पनि जोखिम बनेको छ।
लोकमार्ग बनाउन जिम्मा लिएका ठेकेदारले काम ओगटेर राखेका छन्। हिउँदमा जसोतसो गुडेपछि लोकमार्ग अझैपनि स्तरोन्नती नहुदा बर्षेनी बाढी पहिरो र कष्टकर यात्राको जोखिम भैरहेको हो। बर्षातमा खसेका पहिरो र सडक भासिंदा लोकमार्ग क्षतविक्षत समेत छ। ‘नजिक भएपनि हटियाबाट सदरमुकाम आउन ५ घण्टा लाग्यो’, गलकोट नगरपालिका–३ का अध्यक्ष फमबहादुर खत्रीले भने, ‘बरु पश्चिमतर्फ गएको भए धेरै राम्रो सडक छ ।’ सदरमुकाम आउन सधैं सास्ती खेप्नुपरेको उनले टिप्पणी गरे।
इनारपानीदेखि तल्लो खण्डको कोपिला घुम्ती र सुल्डाँडासम्म पनि सडकबाटै नाली बग्दा सडक छियाछिया परेको छ। सडकबाटै पानी बस्तीमा पस्दा दर्जनौं घर जोखिममा परेको स्थानीय भुवानी कंडेलले बताए। लोकमार्गको झण्डै १५ किमी सडक खण्डमा अझै व्यवस्थित नाली बनेको छैन। सडककै कारण जमिन भाँसिएर जोखिममा परेकोे काउले बस्तीका १४ घर बसाई सरेका छन्।
निरन्तर डोजर प्रयोग गर्ने, सवारी साधनको अत्याधिक चाप हुने र बर्षातमा नाली व्यवस्थित नहुदा सिंगो बस्ती जोखिममा परेको वडा नंं ५ स्थित अमर माबिका प्रअ भिष्म कंडेलले बताए। ‘टाढाबाट बिद्यार्थी पढ्न आउँछन्, लोकमार्गले गोरेटा पनि मासिए, अहिले बालबालिकाले जोखिम मोल्नुपर्ने भएको छ’ कंडेलले भने, ‘न लोकमार्ग व्यवस्थित भयो, न पुराना गोरेटा जोगाउन सकियो।’ काम गरेझै गर्ने, तर कहिल्यै नसक्ने आयोजनाको ढीलासुस्तीले जनताले दुःख पाएको उनले टिप्प्णी गरे।
लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो। उक्त आयोजनामा केन्द्रीय बजेट परिचालन छ। हाल दुइ खण्डमा ठेक्का लिएका ठेकेदारले पनि काम अलपत्र छाडेका छन्। बागलुङ बजारदेखि सुल्डाँडा सम्मको १३ किमी खण्ड सिद्धिसाई भारत संयुक्त निर्माण कम्पनी र बाँकी १२ किमी खण्ड सूर्य कन्स्ट्रक्सनले ठेक्का लिएका छन्। उनीहरुले पटक पटक म्याद थपेर काम अलपत्र पारेका छन्। ‘काम लगाइरहेका छौं, तर गरेझै गर्ने, छाड्ने भयो’ आयोजनाका प्रमुख नारायण भण्डारीले भने, ‘बर्षातले फेरी काम छाडेपछि बनेको सडक पनि उस्तै भयो।’ बिग्रेको स्थानमा मर्मत भएपनि गरिदेउ भनेको उनले बताए। सडक छेउमा थुपारेको गिटीसमेत नबिच्छ्याएपछि अहिले यो सडक हिलाम्मे छ। ढोरपाटन दैनिकबाट