काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी सामान्य बढे पनि नाफा भने घटेको छ। कम्पनीको नाफा १७ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर असारमा नाफा ६ करोड १४ लाख रुपैयाँ थियो।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म १३ करोड ४९ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको हो। पोहोर असारको तुलनामा कम्पनीको आम्दानी ४ प्रतिशत बढेको छ।
विद्युत उत्पादन लागत भने ३६ प्रतिशत बढेको छ। कम्पनीले २ करोड २४ लाख रुपैयाँ विद्युत उत्पादनका लागि भएको खर्च देखाएको हो। पोहोर असारमा विद्युत उत्पादन गर्न कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खर्चेको थियो।
कम्पनीले प्रशासनिक र अन्य सञ्चालन खर्च पनि ४५ प्रतिशत बढाएको छ। कम्पनीले २ करोड रुपैयाँ खर्च गरेको छ। अघिल्लो पटक १ करोड ३९ लाख रुपैयाँ खर्च भएको थियो।
गत आर्थिक वर्षको अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ ब्याज तथा उधारोलगायत भुक्तानी गरेको छ। कम्पनीसँग हाल २६ करोड १७ लाख रुपैयाँ बराबरको दायित्व देखिन्छ। पोहोर असारमा यस्तो दायित्व ३० करोड ६७ लाख रुपैयाँ थियो।
सो अवधिमा ३४ लाख ९२ हजार रुपैयाँ कम्पनीले ब्याज आम्दानी समेत गरेको हो। कम्पनीको ३ करोड ३ लाख रुपैयाँ बैंकको मुद्दती निक्षेपमा छ।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ छ। यस्तै, १३ करोड ३६ लाख रुपैयाँ कम्पनीका अन्य पुँजी कोषमा सञ्चित छ।