काठमाण्डौं। नेपाली सेनाले चार वर्षभित्र सक्ने गरी जिम्मा लिएको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन दुई वर्ष बाँकी हुँदा जम्मा १६ प्रतिशत मात्रै काम सकिएको छ। सरकारी र प्राविधिक पक्षले समस्या पारेपछि नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनामा कमजोर प्रगति देखिन पुगेको हो।
सुरुमा डीपीआर, अन्तर्राष्ट्रिय परामर्शदाता छनोट, मुद्दा–मामिला, सुरुङ डिजाइनमा विवाद, खोकनाको जग्गालगायतले आयोजनाको प्रगतिमा कमी देखिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
१८ अर्बभन्दा बढी खर्च भइसकेको चार लेन सडकको आयोजनामा ५३ किमि क्षेत्र मकवानपुरमा, ४ किमि काठमाडौंमा, ललितपुरमा ७।९ र बारामा ७।६ किमि रहेको छ। सेनाले तत्कालै स्वीकृत कम्पनीसँग सम्झौता गर्ने तयारी थालेको छ।
मुलुककै आर्थिक समृद्धिको अनुपम नमुना बन्ने गौरवको आयोजना निर्माणको गतिलाई नेपाली सेनाले पछिल्लो समय सहज महसुस गरेसँगै काममा तीव्रता दिएको छ। सबै कन्ट्र्याक यही आर्थिक वर्षभित्र सकिने हुँदा रकम निकासासँगै निर्माणको काम यही आर्थिक वर्षको पुसदेखि नै अगाडी बढ्ने सेनाका उच्च अधिकारीहरूले बताए।
सेनाले पुल र सुरुङमार्गको निर्माण अघि बढाउन अन्तर्राष्ट्रिय परामर्शदाताको सुझावका आधारमा कम्पनी छनोट गरिसकेको छ। आयोजनाका अनुसार यस आर्थिक वर्षमा ८ अर्ब ९० करोड मात्रै निकासा भए पनि सबै काम सुरु गराउन थप ३२ अर्ब आवश्यक रहेकाले सरकारसँग माग गरीएको छ। उक्त सडक सञ्चालनमा आएपछि एक घण्टामा काठमाडौं–बारा आउजाउ गर्न सकिनेछ।