मकवानपुर। बागमती प्रदेश प्रहरीले डिजिटल चेक प्वाईन्ट निर्माण गर्ने भएको छ । प्रदेश प्रहरीले शान्ति सुरक्षा तथा अमनचयनलाई दीगो, फलदायी र प्रभावकारी बनाउन डिजिटल चेक प्वाईन्ट निर्माण गर्ने भएको हो ।
प्रहरीले यस आर्थिक वर्षमा गर्न सार्वजनिक गरेका १०० वटा प्राथमिकताका कार्यक्रममा डिजिटल चेक प्वाईन्ट निर्माण गर्ने योजना सबैभन्दा उच्च प्राथमिकतामा रहेको प्रदेश प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले निर्धारण गरेको अन्य प्राथमिकताका कार्यहरुमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनिकरण, मानवश्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र अन्य स्रोत साधन व्यवस्थापन, आर्थिक अनुशासन र पारदर्शिता, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण मानव अधिकार संरक्षण र सम्बर्धन रहेको छ ।
यसैगरी प्रहरीले विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरिवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम संचालन र विभिन्न नविनतम र रचनात्मक कार्यक्रमको संचालन गर्ने भएको छ ।
उल्लेखित प्राथमिकतामा आधारित रहेर बागमती प्रदेशले बिभिन्न १ सय वटा क्रियाकलाप संचालन गर्ने बताईएको छ । जसमा सिसिटिभि जडान, हातहतियार बरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षालगायतका क्रियाकलापहरु संचालन गरिने कार्यालयले जनाएको छ ।