काठमाडौं। भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार एनएचपिसीले पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र लिन हिजोको मितिले ४५ दिनभित्र तथा सेती नदी–६ को अनुमतिपत्र लिन अबको ६ महिनाभित्रमा आवेदन दिनु पर्नेछ । एनएचपिसीले अनुमतिपत्र लिएको २ वर्षभित्रमा दुवै आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डमा पेश गनुपर्नेछ ।
एचएचपिसीले यी आयोजनालाई जलाशय, अर्धजलाशय, वा संयुक्तरूपमा अथवा छुट्टा छुट्टै पनि निर्माण गर्न सक्नेछ । साथै, आयोजना विकास सम्झौता (पिडिए) का लागि दुई पक्षबीच वार्ता गर्न लगानी बोर्डले सहजिकरण गर्ने समझदारीमा उल्लेख छ ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले परियोजनाले सुदूरपश्चिमको अर्थसामाजिक विकासमा यी दुवै परियोजनाले सहयोग गर्ने बताएका छन्। परियोजनाहरु समयमा नै अध्ययन गरी विकासको प्रक्रिया बढ्ने उनले बताए।ुअध्ययन गर्ने क्रममा सरोकारवाला सबै तहका सरकार, सम्बन्धित निकाय र स्थानीय जनताको सक्रिय साथ सहयोगको अपेक्षा गर्दछु। पश्चिम सेती परियोजना राष्ट्रिय गौरवको परियोजना भएको र यी परियोजनाहरुको लाभ सबै नेपाली जनतालाई हुन्छ र सुदुरपश्चिमका प्रभावित क्षेत्रका जनतालाई त लाभ हुने नै भयो। त्यस क्षेत्रको आर्थिक क्रियाकलापमा सुधार आउने छ। परियोजनाको लाभ लिनको लागि परियोजना निर्माणमा आ(आफ्नो क्षेत्रबाट सबैको सहयोगको अपेक्षा गर्दछु,ु प्रधानमन्त्री देउवाले भने।
यस्तै, एनएचपीसीका अध्यक्ष सिंहले सम्झौतासँगै सुदूरपश्चिमको विकासका लागि नयाँ युग भएको प्रतिक्रिया दिएका छन्।
सम्झदारी समारोहमा लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, वन तथा वातावरण मन्त्री प्रदीप यादव, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट एवं नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।