कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको नहरको उद्घाटन नहुँदा पानी सञ्चालन हुन सकेको छैन । असार दोस्रो साता नहरको परीक्षणपछि पानी आउन बन्द छ । भारतीय पक्षले नहरको औपचारिक उद्घाटनपछि मात्रै पानी सञ्चालन गर्ने भनेको छ । असार १५ मा बेदकोट नगरपालिका ४ बगुनमा सोही नहरबाट पानी ल्याएर रोपाइँ गरिएको थियो ।
‘अहिले अलिअलि पानी छाडेको छ, तर उद्घाटन नभई ठूलो मात्रामा पानी आउने छैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले भने, ‘औपचारिक उद्घाटनका लागि प्रक्रिया अघि बढेको छ, तर मिति तय हुन सकेको छैन ।’ उनका अनुसार औपचारिक उद्घाटनका लागि एनएचपीसी (नेसनल हाइड्रो पावर कर्पोरेसन) भारत र आयोजनाले आ–आफ्नोतर्फबाट पहल गरिरहेका छन् ।
दुई देशबीचको आयोजना भएकाले संयुक्त रूपमै उद्घाटन हुनेछ । त्यसबारे उच्चस्तरमा छलफल भइरहेको छ । गत पुसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर त्यतिबेला प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएका कारण उद्घाटनको कार्यक्रम पनि रोकिएको हो ।
भारतीय पक्षले आफ्नो क्षेत्रमा निर्माण भएको १२ सय मिटर नहरको परीक्षणपछि नेपालतर्फ पनि निर्माण भएको २८ किलोमिटर नहरको असार दोस्रो साता परीक्षण गरिएको थियो । त्यसपछि औपचारिक उद्घाटनपछि मात्रै पानी छाड्ने भन्दै भारतीय पक्षले बन्द गरेको थियो ।
टनकपुर बाँधको जलाशयबाट भारतले जलविद्युत् परियोजना सञ्चालनमा ल्याएको छ । सोही बाँधबाट नेपालले बर्खामा १ हजार र हिउँदमा साढे ३ सय क्युसेक पानी पाउनुपर्ने हो । नेपालतर्फ पानी छाड्दा बर्खामा खासै समस्या नभएपछि हिउँदमा जलविद्युत् उत्पादनका लागि पानी अभाव हुन सक्ने एनएचपीसीको अनुमान छ । औपचारिक उद्घाटनपछि पानी छाड्दा विद्युत् उत्पादन कम भए त्यसको क्षतिपूर्ति दाबी गर्नसमेत भारतीय पक्षले अहिले ठूलो मात्रामा पानी छाडन आनाकानी गरिरहेको आयोजनाका प्राविधिकहरू बताउँछन् ।
आर्थिक वर्ष ०६३/६४ देखि नहरको निर्माण सुरु भएको हो । हालसम्म १६ वर्षमा २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ । यसै वर्षदेखि २२ वटा शाखा नहर निर्माणको काम पनि अघि बढाइएको छ । उक्त शाखा नहरहरू निर्माणपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।
अहिले मुल नहरमा पानी आए पनि किसानको खेतमा पुग्न सक्ने छैन । तर नहरको पूर्ण रूपमा परीक्षणसँगै लिकेज भएको ठाउँमा मर्मत गर्न सकिने आयोजनाको सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डित बताउँछन् । पानी सञ्चालन भएमा नहरको दुवैतर्फको बाँधको अवस्था अध्ययनसँगै मर्मतका लागि सजिलो हुने उनले बताए ।
१५१ किलोमिटर मूल नहरमध्ये हालसम्म २८ किलोमिटर निर्माण भएको छ । थप १० किलोमिटरका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । यसबाहेक थप नहर निर्माणका लागि पनि सर्भेको काम भइरहेको छ । दुई वर्षअघि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएपछि निर्माण कार्यले गति लिएको हो । नहर निर्माणपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । तर विगतमा नहर निर्माणको सुस्तताका कारण अधिकांश क्षेत्रमा बाक्लो बस्ती विस्तार हुँदै गएको छ, जसका कारण आयोजनाको कमान्ड एरिया घट्दै गएको छ । कान्तिपुरबाट