मोरङ। सुनसरी एकम्बाका मोहमद ऐइताब साढे चार दशकदेखि सुनसरी–मोरङ सिँचाइ आयोजनाको पानीले खेती गर्दै आएका छन् । ऐइताबकै खेतको मोराह खोल्सामा आयोजनाको करिब ६० मिटर लामो एक्वाडक्ट (पानी बगाउने पक्की पुल) छ । जीर्ण भइसकेको उक्त एक्वाडक्ट टालटुल गरेर आयोजनाले पानी बगाउँदै आएको छ । ‘आयोजनाका संरचना जीर्ण भएर कुनै पनि समय भत्किने स्थितिमा छन्, भत्कियो भने खेत बाँझै हुनेछ,’ उनले भने ।
यही नहरको भरमा सुनसरी र मोरङका ५ लाखभन्दा बढी किसानले खेती गरिरहेका छन् । पाँच दशकअघि इँटाले बनाइएका प्रायः सबै संरचना यतिबेला जीर्ण भइसकेका छन् । मूल उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद मेहताका अनुसार प्रतिसेकेन्ड ६० क्युमेक्स पानी बग्ने मुलुककै ठूलो यो आयोजनाको जीर्ण संरचनालाई बर्सेनि करोडौं रुपैयाँ खर्चेर टालटुल गर्दै पानी बगाउनुपर्ने बाध्यता छ ।
वर्षायाममा संरचना जोगाउनै गाह्रो हुँदै आएको उनले बताए । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर यादव बरालका अनुसार हरेक संरचनालाई प्रतिस्थापन नगरिए कुनै पनि समय आयोजना नै ध्वस्त हुने स्थितिमा पुगेको छ । आयोजनाले हाल ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउँदै आएको छ ।
नेपाल–भारतबीच कोसी सम्झौता भएपछि भारतले चतरा नहर सिँचाइ आयोजनाको प्रारूप तयार गरेर सन् १९६४ मा नहर निर्माण सुरु गरेको थियो । भारतले त्यो बेला कोसी नदीको पूर्वपट्टि चतरामा प्रतिसेकेन्ड ४५ दशमलव ३ क्युमेक्स पानी फ्याल्ने इन्टेक बनाएर ५२ किलोमिटर लामो मूल नहर, ११ शाखा नहर र ३६ माइनर नहर निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको थियो ।
हस्तान्तरणपछि सरकारले आयोजनालाई विभिन्न चरणमा विश्व बैंकको १० अर्ब ऋण सहयोगमा विकास गर्दै हाल ६८ हजार क्षेत्रफलमा सिँचाइ पुर्याएको हो । उक्त बैंकको सहयोगमा सन् १९९२ देखि १९९७ सम्ममा साविकको इन्टेकभन्दा १ हजार ३ सय मिटर उत्तर प्रतिसेकेन्ड ६० क्युमेक्स पानी बग्ने अर्को भूमिगत साइड इन्टेक निर्माण गरेर शाखा नहरको संख्या २१ पुर्याइएको हो । हाल यो आयोजनाबाट सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ ।
हालको ५३ किलोमिटर लामो मूल नहरमा ८ सुपर प्यासेज, एक्वाडक्ट ३६, साइफन दुई, कन्ट्रोल क्रस रेगुलेर १६ वटा छन् । ती सबै जीर्ण छन् । इन्जिनियर बरालका अनुसार निर्माण र टालटुलमा वार्षिक झन्डै ५० करोड खर्च हुँदै आएको छ । वार्षिक ५० करोडको १० प्रतिशत मर्मत र ९० प्रतिशत रकम संरचना निर्माणमा खर्च हुन्छ । उनले पनि पुराना संरचनालाई प्रतिस्थापन गर्नुको विकल्प नरहेको बताए ।
सुनसरी खनार पश्चिममा पर्ने एकम्बाको ८० आरडी ९रिडिस डिस्टेन्स० मा पर्ने मोराह खोलाको एक्वाडक्ट संरचना जोगाउन पाँच वर्ष पहिला करिब ५ करोड खर्च भएको थियो । अहिले त्यो एक्वाडक्ट बोरा र त्रिपालले बेरेर पानी चलाइएको छ । आउँदो हिउँदमा त्यसको विकल्प नखोजिए अर्को वर्षदेखि पूर्वी सुनसरीको २० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफल सिँचाइविहीन हुने इन्जिनियर बरालको भनाइ छ ।
खनारपूर्वको ९४ आरडी र १०६ आरडीको एक्वाडक्ट पनि यसपालि मर्मत र टालटुल गरेर पानी बगाइएको छ । २०७२ सालको बाढीले १ सय ३८ आरडीमा पर्ने लोहन्द्रा खोलाको साइफन र पुल नै बगाउँदा मोरङको १२ हजार हेक्टर क्षेत्रफल सिँचाइविहीन भएको थियो । आयोजनाले २९ करोड ९७ लाख ५६ हजारको लागतमा उक्त साइफन र पुल निर्माणलाई निरन्तरता दिएर गत वर्षदेखि मोरङमा सिँचाइ पुनः सुरु गरेको छ ।
सुनसरीको बकलौरीस्थित ५२ आरडीमा स्केप स्टक्चर नै संकटमा परेपछि आयोजनाले करिब अढाई करोड खर्चेर उक्त स्ट्रक्चरको बचाउ गरेको छ । सुनसरी खोलाको ४८ आरडीमा साइफन राकोडकलाई बचाउन आयोजनाले अघिल्लो वर्ष २ करोड ६६ लाख खर्च गरेको थियो । नहरको क्यानल र खोलाको सतह बराबरी भएपछि साइफन संकटमा परेको थियो । आयोजनाका सबै संरचनाको आयु सकिएकाले मर्मत गरेर पानी सञ्चालन गरिँदै छ ।
सिँचाइ विभागका महानिर्देशक सुशील आचार्यका अनुसार संरचनाको सूक्ष्म अध्ययन भइरहेको छ । उनले सबै संरचनाको प्रतिस्थापनको विकल्प नभएको बताए । ‘सबै संरचना नयाँ बनाउन ठूलो बजेट लाग्छ, त्यसको अहिले सम्भावना नै छैन, तत्काल मर्मतकै भरमा आयोजनालाई निरन्तरता दिनुको विकल्प छैन,’ आचार्यले भने । उनले आयोजनाको मुहानमा पनि समस्या भएको उल्लेख गर्दै त्यसका लागि दाताको खोजी भइरहेको बताए ।
हिउँदमा मुहान सुक्खा
२०६५ भदौ २ मा कोसीको पूर्वी तटबन्ध फुटेपछि नदीको सतह गहिरिएको छ । यसको असर आयोजनाको इन्टेकमा परेको छ । कोसीको वेड लेबल (पानीको) सतह घट्दै जाँदा हिउँद तथा सुक्खायाममा पानीको सतह घट्छ । हिउँदमा पानीको सतह इन्टेकमा मुस्किलले ६ क्युमेक्स हुन्छ ।
वर्षायाममा पानीको चाप आवश्यकताभन्दा बढी हुन्छ । अर्का इन्जिनियर नित्यानन्द झाले भने, ‘हिउँदमा इन्टेकमा पानी नै आउँदैन, त्यसका लागि नदीको पश्चिमतर्फ स्पर निर्माण गरेर पानी पूर्व फर्काउँदा हिउँदमा मुस्किलले बढीमा १२ क्युमेक्स पानी इन्टेकमा आउँछ ।’ जबकि हिउँदमा आयोजनालाई कम्तीमा ३० क्युमेक्स पानीको आवश्यकता पर्ने उनले बताए ।
इन्टेकदेखि उत्तरमा बनेको कोसीको नयाँ पुल बनाउने क्रममा पूर्वतर्फको कफर ड्याम्प नभत्काउँदा खोला पश्चिमतर्फ मोडियो । त्यसले पनि पूर्वतर्फ रहेको आयोजनाको मुहान हिउँदमा सुक्यो । उनका अनुसार हिउँदमा मुहानमा पानी फर्काउन आयोजनाले अहिलेसम्म कोसीको पश्चिमतर्फ करिब ४५ करोडको लागतमा ६ वटा स्पर निर्माण गरिसकेको छ । यसैपालि २० करोडको लागतमा दुई स्पर निर्माण गरिएको छ । थप तीन स्पर निर्माण गर्ने प्रस्ताव छ ।
झाका अनुसार थप तीन स्पर निर्माण गर्दामात्र हिउँदे बाली सिँचाइका लागि आयोजनाको इन्टेकमा बढीमा २५ क्युमेक्स आउने अनुमान गरिएको छ । त्यसका लागि करिब ३५ करोड खर्च हुने आयोजनाको अनुमान छ ।कान्तिपुर दैनिकबाट