उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाका दुई विद्यालयमा प्रविधिमैत्री कक्षा (आईसिटी) सञ्चालनमा लागि भवन निर्माण गरिएको छ। जाल्पा र वल्डभिजनको सहकार्यमा सञ्चालित गोल परियोजनाअन्तर्गत दुई विद्यालयमा दुई कोठे भूकम्प प्रतिरोधात्मक, बाल तथा अपाङ्गमैत्री आरसीसी एक तले भवन र अन्य प्रविधि हस्तान्तरण गरिएको हो।
निजी विद्यालय सरह सरकारी विद्यालयका बालबालिकालाई प्रविधिमा अब्बल बनाउने उद्देश्यले गाउँपालिकाको सहकार्यमा जाल्पा एकीकृत विकास समाज र वल्डभिजन इन्टरनेशनल नेपालले प्रविधि कक्षा सञ्चालनका लागि सहयोग गरेका हुन्।
संस्थाले गाउँपालिकाभित्र नमुना विद्यालयतर्फ उन्मुख भइरहेको वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक विद्यालय मालवासे र वडा नम्बर ७ को जनता सानाकिसान आधारभूत विद्यालय पुवाँरेमा भवनसहित एक करोड ३८ लाख १४ हजार पाँच रुपैयाँ सहयोग गरेको हो।
मालबासेमा संस्थाको ३९ लाख ८९ हजार ४ सय ६८, गाउँपालिकाको जोड कोषवापत १४ लाख १६ हजार ७ सय ६६ गरी कूल ५३ लाख ८७ हजार ५ सय ७३ रुपैयाँको लागतमा आईसिटीयुक्त भवन निर्माण गरिएको छ।
त्यसैगरी पुवाँरेमा संस्थाको ३६ लाख १२ हजार ४ सय ९८ र गाउँपालिकाको १२ लाख ८३ हजार २ सय ३५ गरी ५२ लाख ८४ हजार २ सय ९२ रुपैयाँको लागतमा भवन निर्माण भएको छ।
दुवै विद्यालयमा डेक्सटप कम्प्युटर ८र८ थान, ल्यापटप १र१ थान, कम्प्युटर टेबल, कुर्सी, प्रिन्टर, कार्पेट, चकडी, सानो गोलो टेबल, सोलारसिस्टम, प्रोजेक्टर, दराज, भवन मर्मत, घेराबार तथा रंगरोगनलगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको जाल्पाका कोषाध्यक्ष सुमन परियारले जानकारी दिए।
भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले भवन निर्माण र प्रविधि हस्तान्तरणले नमुना विद्यालयतर्फ उन्मुख हुँदै गरेका विद्यालयलाई शैक्षिक गुणस्तर सुधारमा सहयोग मिलेको बताए।