नवीन लोचनमगर
रोल्पा। रोल्पा अस्पतालको लागि निर्माणाधीन भवन ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको छ । साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २९ करोड ५१ लाख २२ हजार लागतमा असोज २०७५ मा आशीष श्री जयन्ती निर्माण कम्पनीले जिम्मा पाएको थियो ।
आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । ५० शैयाको अस्पताल सञ्चालनका लागि निर्माण थालिएको भवन नबन्दा जिल्ला अस्पतालको सेवा १५ शैयामै सीमित भएको छ ।२०४१ सालमा निर्माण भएको अस्पतालको पुरानो भवनको भित्ता जीर्ण बनेको छ भने टिनको छानो खिया लागेको छ ।
जिल्ला अस्पतालको रुपमा रहेको रोल्पा अस्पताल भवन बनेपछि धेरै विशेषज्ञसहितको सेवा पाइने जिल्लाबासीको अपेक्षा भने अन्योल बनेको छ । भवनको करिब असी प्रतिशत काम सकिए पनि २० प्रतिशत काम कहिले सकिने र सेवा प्रारम्भ हुने भन्ने कुरा अन्योल रहेको अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले बताए ।
‘सुरुमा अपेक्षितरुपमै निर्माणको काम अगाडि बढ्दा छिट्टै आधुनिक भवनबाट सेवा पाइने आशा थियो,’ अध्यक्ष आचार्यले भने–‘करिब सकिने अवस्थामा किन अलपत्र पारियो, र अब कहिले सम्पन्न हुन्छ निर्माण व्यवसायीले रोल्पाली सेवाग्राहीलाई जवाफ दिनुपर्छ ।’ आशीष श्री जयन्ती निर्माण कम्पनीका सञ्चालक खगेन्द्र बुढाले भने निर्माणको काम भइरहेको जनाए ।
‘कोरोनालगायत विभिन्न कारणले केही ढिलो भएको हो,’ निर्माण व्यवसायी बुढाले भने–‘काम अहिले पनि निरन्तर चलिरहेकाले अब धेरै समय कुर्नु पर्दैन ।’ स्तरवृद्धि भई अस्पतालले ५० शैयाको स्वीकृति पाउनुका साथै आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसकेको छ । तर भवन अभावमा सेवा विस्तार हुनसकेको छैन ।
दबाब पनि निरर्थक
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्माण व्यवसायीलाई निरन्तर दबाब दिए पनि गरे जस्तो गर्ने र फेरि अलपत्र पार्ने क्रम नरोकिएको बताए । ‘मैले पटक–पटक निर्माण व्यवसायीलाई भन्दै आएको छु, जिल्लाबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री, सांसद सबैलाई ध्यानाकर्षण पनि गराएको छु, तर उल्लेख्य प्रतिफल पाउन सकिएको छैन,’ प्रजिअ नवराज सापकोटाले भने–‘समयमै काम नसक्ने निर्माण व्यवसायीलाई कार्वाहीको दायरामा ल्याउनुपर्छ भन्ने मान्यता राख्छु तर हामी चुकिरहेका छौं ।’
उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी रोल्पा आएको अवस्थामा भवनको अनुगमन समेत गरिएको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गरिएको ढिलासुस्ती र लापरबाही रोल्पाली राजनीतिक नेतृत्वका ‘लाज’को विषय हुनुपर्ने नागरिक अगुवाहरु बताउँछन् । रोल्पा अस्पताल भवनसहित जिल्लाको समग्र विषयमा नागरिक समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराउँदै आएको छ ।
ज्याला नपाएपछि हारगुहार गर्दै मजदुर
रोल्पा अस्पताल भवन निर्माणमा २५ रुपैयाँ स्कारफुटमा काम गर्ने गरी पलाष्टरको जिम्मा पाएका थिए सप्तरीका सुमन साहले । कामका लागि उनले पूर्वी तराईकै विभिन्न जिल्लाबाट मजदुरहरु रोल्पा ल्याए, सुरुमा मुख्य ठेकेदारबाट काम गरेवापत आठ लाख रकम पनि पाए । तर काम बढ्दै जाँदा पाउनुपर्ने रकम मुख्य ठेकेदारले रोकिदिएपछि सुमन साहको विचल्ली भयो ।
‘तीन लाखमा सप्तरीमा जग्गा धितो राखेर कामदारको अलिअलि समस्या टारिदिएँ तर त्यही तीनलाख फिर्ता गर्न नसक्दा जग्गा गुमाएँ,’ साहले भने–‘मैले ल्याएको कामदारले मलाई माग्नेनै भए, मुख्य ठेकेदारले नदिएपछि मैले के गर्नु, हजुर ?’ साहले अति भएपछि स्थानीय प्रहरीमा समेत उजुरी दिएको बताए । ‘प्रहरीकोमा ठेकेदारको प्रतिनिधि हामी सबै बसेर १० दिनको म्याद दिएको थियो २० दिन पुग्न लागिसक्यो, भोलि भोलि मात्र भन्छ, भोलि कहिले आउँछ र पैसा पाउनु’ साहले भने । कामदारलाई चामल प्लाष्टिकमा पैंचो मागेर खुवाउने गरेको उनले दुःख सुनाए । उनले भने– ‘रोल्पाका ठेकेदारहरु मजदुरलाई ठग्छन्, हजुर । ठेक्काको पैसाले गाडी किन्छन् तर तलब दिँदैनन् ।’
अर्का पलम्बरका जिम्मा पाएका कामदार हुन् भारत उदिसाका प्रियरञ्जन प्रधान । ठेकेदार खगेन्द्र बुढासँग काम गर्न थालेको लामो समय भएको उनले सुनाए । पैसाको अभावमा घर नगएकै दुईवर्ष पुगेको उनले बताए । ‘आमाबुवा बिरामी हुनुहुन्छ, पैसा पठा भन्नुहुन्छ, ठेकेदारले दिए पो पठाउने ?’ प्रियरञ्जन भन्छन्–‘कति दुःखमा काम गरियो, मेरो ३०÷४० लाख फेसेको छ, गाह्रो छ ।’ मजदुरी गरिरहेका रोल्पाकै धनकुमारी डाँगीले पनि ज्याला नपाएकै कारण १५ दिन काम रोकेको र पैसा आउँछ भनेर बोलाएकाले काम गर्न सुरु गरेको बताइन् । ‘हामीलाई आश्वासन मात्र दिन्छन्, पैसा दिँदैनन्’ डाँगीले भनिन् ‘काम गरेको पसिनाको मूल्य नपाइने हो भने के काम गर्नु रु’ अर्का कामदार बलबहादुर डाँगीले पनि ज्याला नपाएकै कारण दैनिकी चलाउन मुस्किल परेको बताए ।
उनीहरुले ज्याला नपाएको बारेमा भन्न खोजे पनि झनै ठेकेदारले अहिलेसम्मको पैसा नदिने हो कि भन्ने डरले कुरा लुकाउँदै बसेको बताए । मजदुरी गरिरहेका धनकुमारी डाँगीले भनिन् ‘तिमीहरुले यस्तो भन्ने ? भनेर झन् अहिलेसम्मको ज्याला त रोकिँदैन नि सर ?’