सुनसरी। व्यस्त मध्येको एक मानिने कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक निर्माणमा लापरवाही र ढिला सुस्ती हुदाँ दुर्घटना बढ्न थालेको छ ।
तरहरा देखि धरानको तीनकुने १० किमी छ लेनको बाटो निर्माण रोकिएपछि आवतजावत गर्न समस्यासँगै पछिल्लो समय दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीको अनुसार पछिल्लो एक वर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना भएको छ। दुर्घटनामा ६ जनाको ज्यान गएको भने ६ जनाको अवस्था गम्भिर र अन्य ६३ जना सामान्य घाइते भएको तथ्याङक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जीर्ण सडकमा सवारी चालकले तिब्र गति सवारी साधन चलाउदा दुर्घटना बढेको बताए । मूल्यवृद्धि बढेसँगै निर्माण सामाग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासघले मुलुकै भरि आव्हान गरेको ‘निर्माण होलिडे’का कारण देखाउंदै ठेकेदार कम्पनीले निर्माण काम नै ठप्प बनाएपछि बाटोमा सवार सवारी साधनमा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।
तरहरादेखि धरान तीनकुने सम्मको सडक निर्माण आगामी आषाढ मसान्तसम्ममा सम्पन्न गर्ने गरी दुई प्याकेजमा ठेक्का सम्झौता भएको हो । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ ।
उक्त सडकको काम रोकिएपछि सडक निर्माणका लागि जथाभावि राखिएका निर्माण सामाग्री तथा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।
यो सडक खण्डबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सयौंको संख्यामा विरामी लिएर एम्बुलेन्स गुड्ने गरेको छ । विरामी लिएर हिड्दा अत्यन्तै समस्या भएको एम्बुलेन्स चालक बताउँछन । विशेष गरी शल्यक्रिया गरेर ल्याएका विरामीहरुलाई सडकको खाल्डाखुल्डीका कारण विरामीले धेरै सास्ती भोग्नुपरेका एम्बुलेन्स चालक लिलाराज चेम्जोङ बताउँछन् ।
निर्माणका ठेक्का लिइएको रानी–किमाथांका छ लेन सडक अन्तर्गतको धरान–तरहरा सडक खण्ड अन्तर्गतको सेउती–तीनकुने क्षेत्रका कन्ट्याक्टर मेनेजर रञ्जन चौधरीले बर्षाद्का कारणले रोकिएको निर्माण कार्यलाई बर्षाद् रोकिएसँगै सञ्चालनल गर्ने बताए । तरहरा–तीनकुनेसम्मको दुई प्योजमा ठेक्का स्वीकृत भएको सडकको कुल लागत ७५ करोड रहेको छ । गाेरखापत्रबाट