पोखरा। निरन्तर वर्षासँगै आएको बाढीको कारण बस्ती र पुलमुनि पहिरो जाने क्रम नरोकिएपछि पोखरा महानगरपालिका २१ दम्सादीको बस्ती र झोलुङ्गेपुल जोखिममा परेको छ। यस वर्ष असारको दोस्रो हप्तादेखि दम्सादीको बस्ती र झोलुङ्गेपुल नै जोखिममा पर्ने गरी पुलमुनि पहिरो जान थालेपछि स्थानीयमा त्रास बढेको छ।
त्यस्तै दसैं लगतै सोमबारदेखि कात्तिकमा पनि बेमौसमी रुपमा आएको वर्षाको कारण आएको बाढी, पहिरोले बस्ती नै फुस्रे खोलामा पुर्याउने हो कि भन्ने त्रासमा रहेको स्थनीयले बताएका छन्। ६० घर रहेको दम्सादीमा यति बेला पहिरोले दुईवटा रेष्टुरेण्ट सहित २० घर र झोलुङ्गेपुल नै जोखिममा पारेको दम्सादी टोल विकास संस्थाका उपाध्यक्षले जानकारी गराएका छन्। त्यस्तै फुस्रेखोलाको किनार दम्सादीको बस्तीमुनिको जमिन कमेरो र गेगरयुक्त रहेकोले पानी नपर्दा पनि भक्क–भक्क जमिन खस्ने गरेको छ। पानी पर्दा बस्ती नै फुस्रे खोलामा खस्छ कि भन्ने त्रासले पहिरो नजिकको स्थानीय घर छाडेर अन्यत्र बस्ने गरेको स्थानीयले जनाएका छन्।
दम्सादीको बस्ती नजिकै तीनतिरबाट पहिरो गएको छ। दम्सादीको बस्तीदेखि उत्तरपश्चिम फेवा पावर हाउस नजिकै भएर पोखरा १७ जोड्ने झोलुङ्गेपुल पनि दसैं अघिको सुख्खा पहिरोले भत्केको छ। यो पहिरोले पनि बस्ती जोखिममा परेको स्थानीयले जानकारी दिएका छन्।
दम्सादीमा पहिरो जान थालेपछि पोखरा महानगरपालिकाले त्यस क्षेत्रको भौर्गभिक अध्ययन र जमिनमुनिको माटोको अवस्थाको बारेमा अध्ययन गर्न भूर्गवविद्धको टोली नै खटाएको थियो। दम्सादीको बस्तीमा साना–साना भ्वाङ रहेको र वर्षाको पानी पर्दा त्यही भ्वाङ भएर पानी बस्ती हुँदै फुस्रे खोलातर्फ खस्दा जमिन भित्रको कमेरो माटो पनि घुलेर पानीसँगै बाहिर निस्कने हुँदा बस्तीको डिलमा पहिरो गएको अध्ययन टोलीकाले बताएका छन्। बस्ती र पुल पहिरोबाट जोगाउन पानीको उचित निकास, नियन्त्रण र पहिरो गएको क्षेत्रको डिल संरक्षणको काम गर्नु पर्ने अध्ययन टोलीको सुझाव रहेको छ।
त्यस्तै बस्ती जोखिममा पर्ने गरी दम्सादीमा पहिरो गएपछि बस्ती र पुल संरक्षणका लागि तत्कालल वडाले ४ लाख रुपौयाँ छुट्याएको पोखरा महानगरपालिकाले बताएका छन्। पहिरो नियन्त्रण गरी बस्ती र झोलुङ्गेपुल जोगाउन प्रदेश सरकारले तत्कालका लागि ४८ लाख रुपौयाँ बजेट छुट्याएको अर्थमन्त्रीले बताएका हुन्।
पुलमुनि पहिरो गएपछि पहिले पुल जोगाउनु पर्छ भन्ने थियो अहिले तीनतिर गएको पहिरोले बस्ती कसरी जोगाउने भन्ने चिन्तामा रहेको स्थानीयको गुनासो रहेको छ। प्रदेश सरकार र नगरपालिकाले छुट्याएको बजेट एउटा पहिरो नियन्त्रण गर्न पनि अपुग हुने भएकाले तिन तिरबाट गएको पहिरोबाट बस्ती जोगाउन प्रदेश, स्थानीय र संघ सरकारले एक एक वटा पहिरो गएको क्षेत्र संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन स्थानीयले माग गरेका छन्।