कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका ७ कञ्चभोज बस्तीमा जोगबुडा नदीको तटीय क्षेत्रको बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । वर्षातमा बाढीबाट कसरी धनजनको सुरक्षा गर्ने भन्ने उदेश्यले स्थानीयहरुको सहभागीतामा कृत्रिम नमुना अभ्यास गरिएको हो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ आसपास क्षेत्रमा वर्षेनी जोगबुडा नदीमा आएको बाढीले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको डुवानमा परि धनको ठूलो मात्रामा क्षती गर्दै आएको छ । वर्षेनी बाढीका कारण उक्त बस्तीहरुका स्थानीयहरु पलाएन हुँदै आएका छन् ।
उक्त क्षेत्रलाई लक्षित गर्दै बाढी आएको समयमा कसरी धनजनको सुरक्षा गर्ने भन्ने विषयलाई मध्यनजर गरी सामुदायिक विपद् व्यवस्थापन समितिसँगै समुदायमा कृत्रिम नमुना अभ्यास गरिएको छ ।
बाढीको समयमा पूर्व सूचना प्रणाली, खोज तथा उद्वार र प्राथमिक उपचार कसरी प्रयोग गर्ने भन्ने विषयबारे कृत्रिम नमूना अभ्यास गरिएको छ । यस अभ्यासको प्रयागले बाढी आएको समयमा ठूलो सहयोग हुने निड्स नेपालद्वारा सञ्चालित,समुदायका लागि बाढी उत्थानशीलता मापन परियोजनाका संयोजक नविन भट्टले बताए।
वर्षाको बेला बाढीबाट धनजनको सुरक्षा र विपद न्यूनिकरण तथा समुदायसंग भएको क्षमतालाई परीक्षण गर्दा बाढी आएको समयमा प्रभावकारी बनाउन कृत्रिम नमुना अभ्यासले सहयोग गर्ने दोधारा चाँदनी नगरपालिकाका विपद् व्यवस्थापन फोकल प्रर्सन रघुनाथ भट्टले बताए।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा निड्स नेपाल कञ्चनपुरले विपदमा रहेका जोखिम बस्तीहरुका १० वटा स्थानमा समुदाय स्तरीय विपद् व्यवस्थापन समिति मार्फत् विपद् कार्यदल गठन गरी समुदायमा बाढी आएको समयमा खोज तथा उद्वार कार्य सहजताका लागि विभिन्न तालिम तथा बैठक सञ्चालन गर्दै आएको छ ।