काठमाडौं। वर्षा लागेसँगै निर्माण क्षेत्रमा अफसिजन सुरु हुन्छ। वर्षाका कारण निर्माण कार्य प्रभावित हुने भएकाले वर्षाको समयलाई निर्माण क्षेत्रको अफसिजन मानिन्छ। यो समयमा निर्माण कार्य त्यति हुँदैन। जसले गर्दा निर्माण सामाग्रीको खरिदबिक्री पनि कम हुन्छ। खरिद बिक्री कम हुनासाथै स्वभाविक रुपमा निर्माण सामाग्रीको मूल्य घट्नुपर्ने हो। तर यो वर्ष वर्षा सुरु हुनु र निर्माण सामाग्रीको मूल्य वृद्धि हुन थाल्नु सँगसँगै भएको छ।
भदौको पहिलो सातादेखि फलामे छडको मूल्य प्रतिकिलो करिब ५ रुपैयाँले बढेर आएको छ।
गत साउन महिनासम्म फ्याक्ट्रि मूल्य प्रतिकिलो १०५ देखि ११५ रुपैयाँसम्म रहेको फलामे छडको मूल्य फलामे छड उत्पादक कम्पनीले भदौ पहिलो सातादेखि प्रतिकिलो ११२ देखि १२० रुपैयाँसम्म पुर्याएका छन्।
त्यसैगरी सिमेन्ट उत्पादक संघले पनि सिमेन्टको मूल्यवृद्धि गर्ने निर्णय गरेको छ। यसअघि कम्पनी मूल्य प्रतिबोरा ५४० देखि ५९० सम्म रहेको सिमेन्टको मूल्य गत साउन १ गते प्रतिबोरा ४० देखि ६० रुपैयाँले वृद्धि गरेर कम्पनी मूल्य प्रतिबोरा ५८० देखि ६५० सम्म पुर्याइएको थियो।
संघले फेरि सिमेन्टको मूल्यमा प्रतिबोरा ४० देखि ६० रुपैयाँले वृद्धि गर्ने निर्णय गरिसकेको छ। उक्त वृद्धि भएको मूल्य कहिलेदेखि लागू गर्ने भन्ने निर्णय नगरेपनि चाँडै नयाँ मूल्यमा सिमेन्ट बजारमा पुर्याउने संघले तयारी गरेकाे बुझिएकाे छ।
संघले सिमेन्टकाे मूल्य बढाउने निर्णय गरेसँगै सिमेन्ट उत्पादक कम्पनीहरूलाइ सिमेन्टकाे अग्रीम बुकिङ नलिन समेत आग्रह गरेको स्रेतले जनाएकाे छ।
संघले सिमेन्टको कच्चा पदार्थ फलामे धातु (क्लिंकर) को मूल्य भारतबाट बढेर आएका कारण सिमेन्ट उत्पादक कम्पनीहरुको लागतमा वृद्धि भइ घाटा बेहोर्नु परेकाे भन्दै सिमेन्टको मूल्य बढाउन लागेकाे हाे।
त्यसैगरी भारतबाट आयात हुने फलामे छडको कच्चा पदार्थमा भारत सरकारले १५ प्रतिशत कर लगाउन थालेको र नेपाल सरकारे पनि ५ प्रतिशतले कच्चा पदार्थमा लगाउने कर वृद्धि गरेकाले अफसिजन नै भएपनि घाटा परिपुर्ति गर्न फलामे छडको मूल्य बढाएको फलाम उत्पादक कम्पनीहरुको भनाइ छ।
निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिका कारण अघिल्लो आर्थिक वर्षमा पनि देशभरका निर्माण कार्य प्रभावित बनेका थिए। यस आर्थिक वर्षको सुरुवात देखि नै निर्माण सामाग्रीको मूल्य अझ बढ्दै गएको छ। अफसिजनमै बढ्न थालेको मूल्य सिजनमा आकाश छुने पक्का छ। यसले यो आर्थिक वर्षमा पनि निर्माण आयोजनाहरु प्रभावित हुने देखिन्छ।