काठमाडौं। शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले बुधबार सूचना जारी गरी शैलुङ कन्स्ट्रक्सनसहित ११ वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो । शैलुङले लिएका ठेक्का समस्याग्रस्त भएकाले उसलाई फास्ट ट्य्राकमा कालोसूचीमा राखिएको कार्यालय स्रोतले जनाएको छ ।
बालाजु–रानीपौवा सडकको संयुक्त ठेक्का लिने एआईपीएल–शैलुङ कन्स्ट्रक्सन दुवै कम्पनी ३ वर्षका लागि कालोसूचीमा परेका छन्। यी दुवै कम्पनीले आगामी ३ वर्षसम्म नयाँ ठेक्कामा काम गर्न पाउने छैनन्।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का घरबेटी समेत रहेका अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप लाग्दै आएको छ। यो कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ ।
सत्ता र शक्तिको आडमा शैलुङका प्रमुख अधिकारीले ठेक्का हत्याउने, त्यसबापतको पेस्की रकम अन्तै लगानी गरेर सडक, पुललगायत सार्वजनिक संरचना निर्माण अलपत्र पार्दै आएका छन् ।
बालाजु–रानीपौवा सडक स्तरोन्नतिका लागि आठ वर्षअघि एआईपीएल–शैलुङ जेभीले संयुक्त ठेक्का लिए पनि काममा प्रगति हुन नसकेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का सम्झौता तोडेको थियो ।
त्यसपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको थियो । साेहि सिफारिस बमाेजिम उक्त कम्पनी कालाेसूचीमा परेकाे हाे।
शैलुङ कन्स्ट्रक्सनले देशभरका अधिकांश आयोजनामा ठेक्का लिँदै अलपत्र पार्ने गरेको आरोप लाग्दै आएको छ। सत्ताको संरक्षण रहेका कारणले पनि शैलुङले लापरबाही गर्ने गरेको आरोप छ।