मुगु। मुगुमा अपांगता भएका विद्यार्थीका लागि छात्रवास भवन निर्माण गरिएको छ। जिल्लाको महाकाली नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना अपांगता भएका बहिरा बालबालिकाको विशेष शिक्षाकालागि छात्रवास भवन निर्माण गरिएको हो ।
ब्याक्टु लाइफ जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक नेपाल) मुगुको प्राविधिक सहयोग र महाकाली नमुना माविको समन्वयमा अपांग बहिरा बालबालिकाको आवासका लागि दुई तल्ले सुविधा सम्पन्न भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, काबा जिल्ला समन्वय प्रमुख, समन्वय अधिकारी, वडा अध्यक्ष नागरिक समाज, संचारकर्मी लगायतको उपस्थितीमा उक्त छात्रबास भवन महाकाली नमुना माविलाई हस्तान्तरण गरिएको हो ।
लामो समयदेखि फरक क्षमता भएका अपांगता भएका बहिरा (बोल्न नसक्ने) बालबालिकालाई बस्नको लागि जिर्ण भवनमा कष्ट हुँदै आएको र उनीहरुलाई बस्न, खान, सुत्न र विशेष अध्यानका लागि निकै समस्या भएकाले छात्रबास भवन निर्माण गरिएको हो ।
३० जना अट्ने क्षमता भएको यस भवनमा ४ वटा शौचालय, भान्सा, डाइनिङ्ग हल, मिटीङ्ग हल सहितको व्यवस्था छ । छात्र र छात्राको लागि छुटाछुट्टै आवास र सुत्ने कोठा बनाइएको छ । दुई जना शिक्षकको लागि छुट्टै कोठाको व्यवस्था छ ।
भवन निर्माण गर्दा एक करोड ३५ लाख ८९ हजार रकम खर्च भएको हेरेन्डेक नेपाल मुगुले जनाएको छ । जसमा बाहिरबाट खरिद गरेको सामानको मुल्य ८५ लाख ८० हजार, ज्याला तथा स्थानीय सामान ३८ लाख १९ हजार र फर्निचर तथा उपकरण खरिदमा ११ लाख ८९ हजार खर्च भएको छ ।