काठमाडाैं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् ।
महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन्।
उनले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए।
महाप्रवन्धक झाले कम्पनीमा महाप्रवन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताए। उनले मन्त्रालयले पूर्व महाप्रवन्धकलाई पैसा दिने तर आफू आएपश्चाद् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाए ।
उनले अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको बताए। उनले अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने दाबी गरे । झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए ।
उनले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए । उनले मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु रहेको बताए।
महाप्रवन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताए । उनले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा,काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताए । झाले रेल्वे सञ्चालनले वहुआयामिक क्षेत्रमा प्रभाव पारेको बताए ।
झाले आगामी शनिवार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताए । उनले कम्पनीले यस्ता रेल महिनामा १० वटा ल्याउने गरी पहल गरिरहेको बताए ।