काठमाडौं। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ। बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए।
यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए।
यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिएका थिए।
कोटेश्वरको ट्रष्ट कार्यालयको अवैध संरचना महानगरले बिहीबार नै हटाउन भनेको थियो। तर, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना हटाउन थालेपछि कोटेश्वर पुग्न सकेको थिएन।
पछिल्लो समय मेयर बालेनको एक्सनप्रति आम नागरिकले प्रशंसा गरिरहेका छन् भने व्यापारीहरु असन्तुष्ट छन्।
बुधबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको संरचनामा मेयर बालेनले डोजर चलाएका थिए। बिहान अनुगमनमा जाँदा मेयर बालेन र अल्फाबिटाका सञ्चालक द्धिराज शर्माबीच चर्काचर्की भएको थियो। सञ्चालक शर्माले आफूसँग नक्सा पासको प्रतिलिपि नभएको जवाफ फर्काएपछि बालेनले अफिस आएर नक्सापासको प्रतिलिपि र डोजरसहित अल्फाबिटा पुगेका थिए।
बालेनले भदौ ६ गते बानेश्वरस्थित एक कम्प्लेक्समा डोजर चलाएर अण्डरग्राउण्ड खालि गराएका थिए। त्यसपछि काठमाडौं महलले बनाएको अवैध संरचना, रञ्जना गल्लीभित्रका संरचनामा डोजर चलाएको थियो।
मेयर बालेनको कदमलाई लिएर नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नेकपा एमाले युवासंघले आपत्ति जनाएको छ। बालेनले नियोजित तरिकाले व्यापारीमाथि आक्रमण गरेको भन्दै संघले महानगरलाई सबै क्षतिपूर्ति भराउने दाबी गरेको छ। कोरोना महामारीले घाटामा रहेका व्यापारीलाई दशैंको मुखमा यस्तो हबिगत बनाउनु गलत रहेको संघले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआईजी मिरा चौधरी, मेयर बालेन नेतृत्वसहित नगरप्रहरीको टोली अवैध संरचना हटाउन लागि परेको छ।
डीआईजी चौधरी उपत्यका ट्राफिक प्रमुखमा नियुक्त भएपछि बालेनले भेटवार्ता गरेका थिए। सो वार्ताले अन्डरग्राउण्ड पार्किङमा भएको अवैध व्यापारलाई हटाए उपत्यकाको सवारी जाम कम हुने निष्कर्ष निकालेको थियो। नक्सापासविपरित अन्डरग्राउण्ड पार्किङ क्षेत्रमा अवैध व्यापार गर्ने व्यापारीको विवरण ३२ सै वडाका वडाध्यक्षहरूलाई संकलन गर्न लगाइएको छ।
महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले अवैध संरचना भत्काउने कामको दायरा बढाउँदै लैजाने बताए।